
सुर्खेत,असार २६ । सशक्त महिला समृद्ध नेपाल (EWPN) कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा स्थानीय समन्वय बैठक सम्पन्न भएको छ। महिला उद्यमशीलता प्रवर्द्धन, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षाका गतिविधिहरूको दिगोपन सुनिश्चित गर्ने उद्देश्यले आयोजित बैठक नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावत, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्ष विक्रम खड्का, सोसेक नेपालका प्रतिनिधि तथा नगरपालिकाका अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा कार्यक्रमको समीक्षा गर्दै विशेष गरी ‘महिला उद्यमशीलता हेल्प डेस्क’ र ‘शिशु स्याहार केन्द्र’ को दिगोपनका विषयमा छलफल गरियो।
प्रमुख अतिथि धनबहादुर रावतले कार्यक्रमका असल अभ्यासहरूलाई निरन्तरता दिन स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठकको समापन गर्दै नगर प्रमुख ढकालले महिला उद्यमी र श्रमिकहरूको आर्थिक सशक्तीकरणका लागि हेल्प डेस्क र शिशु स्याहार केन्द्रजस्ता सेवाहरूलाई नगरपालिकाको वार्षिक योजनामा समेटेर निरन्तरता दिन आफूहरू सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।


नेपाल कर्म । २७ असार २०८३, शनिबार ०८:०३