सुर्खेतमा फल्दैछ कालो सुन : हिजो दाउरा भनेर काटिएको रूख कुर्न आज बडीगार्ड

सुर्खेत । सामान्यतया बैंकको लकर, बहुमूल्य हिरा-जवाहरात, वा कुनै विशिष्ट देशका भिआइपीहरूको सुरक्षाका लागि बडीगार्ड र सीसीटिभी क्यामरा राखिएको त हामीले देख्दै र सुन्दै आएका हौँ । तर, नेपालकै एउटा गाउँमा एउटा रूखको सुरक्षाका लागि यो तहको अत्याधुनिक र कडा घेराबन्दी गरिएको छ भन्दा धेरैलाई पत्याउन गाह्रो हुन सक्छ ।



पश्चिम नेपालको सुर्खेतमा पर्ने सिम्ता गाउँपालिका वडा नं. २ स्थित नाहागाउँमा अचेल अचम्मको दृश्य देखिन्छ । यहाँ रहेका केही विशेष रूखहरूलाई चौबीसै घण्टा फलामको तारबार, अत्याधुनिक सीसीटिभी क्यामरा र बडीगार्डहरूको पहराभित्र सुरक्षित राखिएको छ ।

यी कुनै साधारण रूख होइनन्, यी त हुन्, अन्तर्राष्ट्रिय बजारमा कालो सुनका रूपमा चिनिने बहुमूल्य धार्मिक एवं व्यावसायिक वनस्पति बोधिचित्त अर्थात् बुद्धचित्त।

कुनै समय यस्तो पनि थियो, जब यो रूखको महत्त्व गाउँलेलाई कत्ति पनि थाहा थिएन । सिम्ता गाउँपालिका–१ का वडाध्यक्ष खगेन्द्र सिंह विगतको अज्ञानतालाई सम्झिँदै भन्छन्, ‘कुनै बेला यी रूखमा फल लाग्दा पहिचान नभएकै कारण हामीले सामान्य जंगली वनस्पति वा काँडाको झाडी ठानेर आफैँ काटेर फाल्यौँ । यो रूख त बहुउपयोगी र लाखौँ फल्ने कालो सुन पो रहेछ ! त्यो बेला हामीले यसको महत्त्व र ऐतिहासिक मूल्य बुझ्न सकेनौँ, धेरै रुखहरू दाउरामै सकिए ।’

तर, जब चिनियाँ र तिब्बती बजारमा यसको मूल्य अन्तर्राष्ट्रिय स्तरमै अकासियो । तब मात्र स्थानीयका आँखा खुले । अहिले नाहागाउँका तीन जना कृषकको घरमा रहेका रूखहरू त काठमाडौँ र तिब्बतका बजारमा लैजान ठूला व्यापारीहरूले फल लाग्नुअगावै लाखौँ रुपैयाँ अग्रिम भुक्तानी दिएर बुकिङ गरिसकेकाे वडाध्यक्ष सिंह बताउँछन् ।

फल पाक्ने बेला चोरी हुने डर अत्यधिक हुने भएकाले व्यापारी आफैँले ठूलो लगानी गरेर रूखको फेदमा बडीगार्ड र सीसीटिभी क्यामरा जडान गरेर सुरक्षा दिएकाे उनले जानकारी दिए ।

बोधिचित्तको ऐतिहासिक पृष्ठभूमि रोचक र आध्यात्मिक छ । बौद्ध इतिहास र धार्मिक किम्वदन्ती अनुसार, आजभन्दा करिब १३ सय वर्ष अगाडि आठौँ शताब्दीमा महान् तान्त्रिक गुरु पद्मसंभव अर्थात् गुरु रिम्पोछे भारतबाट नेपालहुँदै तिब्बत जाने क्रममा नेपालको काभ्रेस्थित तिमाल क्षेत्रमा पुगेका थिए । त्यहाँको एकान्त गुफामा उनले कडा तपस्या गरे ।

आफ्नो ध्यान पूरा भएपछि त्यस क्षेत्रका स्थानीय तामाङ समुदाय र प्राणीहरूको कल्याण, शान्ति र समृद्धिको कामना गर्दै उनले आफ्नो साथमा रहेको एक पवित्र वनस्पतिको बीउ त्यहाँको माटोमा छरिदिएकाे किवदन्ती छ।

संस्कृत शब्दमा बोधि अर्थात् ज्ञान वा जागरण र चित्त अर्थात् मन वा चेतना मिलेर बनेको यो वनस्पति पछि बौद्ध जगतमा निकै प्रख्यात भयो । यसको रूखमा फल्ने स-साना दानाहरूलाई धागोमा उनेर १०८ दानाको विशेष धार्मिक माला बनाइन्छ ।

जसलाई बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप र ध्यानका लागि संसारकै सबैभन्दा पवित्र र शक्तिशाली माध्यम मान्छन् । दलाई लामादेखि संसारभरका उच्च बौद्ध गुरुहरूले यही माला प्रयोग गर्ने भएकाले विश्वबजारमा विशेष गरी चीन, तिब्बत, भुटान, ताइवान र जापानमा यसको माग अत्यधिक छ । यसको एउटै बहुमूल्य र बुट्टेदार मालाको मूल्य नेपाली बजारमै लाखौँ रुपैयाँ पर्छ ।

सुर्खेतमा व्यावसायिक खेती : कर्णालीमा थपियो नयाँ ऊर्जा
पूर्वी नेपालको काभ्रे र तिमाल क्षेत्रमा मात्रै रैथाने रूपमा पाइने विश्वास गरिएको बोधिचित्तको व्यावसायिक सम्भावना अब पश्चिम नेपालको सुर्खेतमा पनि देखिएपछि कृषि क्षेत्रमा नयाँ तरंग पैदा भएको छ ।

अहिले सिम्ताको नाहागाउँमा मात्रै व्यावसायिक रूपमा ७ सयभन्दा बढी बोधिचित्तका बिरुवाहरू हुर्किरहेका छन् र स्थानीय कृषकहरू परम्परागत खेती छाडेर यसैतर्फ आकर्षित भइरहेका छन् ।

कृषि विकास निर्देशनालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकाय सुर्खेतको यो नयाँ कृषि क्रान्ति देख्दा उत्साहीहुँदै भन्छन्, ‘सुर्खेतका उच्च र पहाडी भूभागहरू बोधिचित्त खेतीका लागि भौगोलिक र प्राकृतिक रूपमा निकै उत्तम र सम्भावनायुक्त देखिएका छन् । सिम्तामा सफलतापूर्वक यसको उत्पादन हुनुले सुर्खेतमा बोधिचित्तको व्यावसायिक खेती पूर्ण रूपमा सम्भव छ भन्ने प्रमाणित गरिदिएको छ । यसले कर्णाली प्रदेशका कृषकहरूमा एउटा नयाँ ऊर्जा, नयाँ उत्साह र आत्मविश्वास थपेको छ ।’

‘हिजो परम्परागत खेती वा अन्नबालीबाट जेनतेन गुजारा गरिरहेका र रोजगारीका लागि विदेशिन बाध्य युवाहरूका लागि बोधिचित्त गेम चेन्जर बाली बन्न सक्ने उनी बताउँछन् ।

कम मिहिनेत, कम लगानी र बाँझो पाखो जमिनको सदुपयोग गरेरै कृषकहरूले आफ्नो आर्थिक जीवनस्तरमा ठूलो कायापलट ल्याउन सक्ने विश्वास उनकाे छ ।

निर्देशनालयले पनि सुर्खेतमा यस्ता उच्च मूल्ययुक्त बालीलाई प्रवर्द्धन गर्न आवश्यक प्राविधिक सहयोग, क्षमता अभिवृद्धि र अन्य प्रोत्साहनका कार्यक्रमहरू अगाडि बढाउने प्रतिवद्धता उनले जनाए ।

हिजो पहिचान र चेतना नहुँदा गाउँघरमा दाउरा र पत्करका रूपमा फालिएको वनस्पति आज सुर्खेतका पहाडहरूमा समृद्धिको कालो सुन बनेर फलिरहेको राेकाय बताउँछन् ।

‘सिम्ताको नाहागाउँमा देखिएको यो उत्साहले एउटा सन्देश दिएको छ । यदि हामीसँग सही पहिचान, प्रविधि र व्यावसायिक दृष्टिकोण छ भने हाम्रै पाखा-पखेरा र माटोमा करोडौँको सुन फलाउन सम्भव छ,’ उनले भने ।

घण्टौँ दुःख गरेर पनि न्यून आम्दानी हुने परम्परागत खेती गरिरहेका वा रोजगारीको खोजीमा खाडी मुलुक जाने सोच बनाइरहेका युवाहरूका लागि सुर्खेतको यो बोधिचित्त क्रान्ति एउटा उत्कृष्ट, दीर्घकालीन र आकर्षक आम्दानीको नयाँ मार्ग बन्ने उनले बताए ।

कति उचाइमा हुन्छ बोधिचित्तको खेती ? 
वनस्पतिविद् र कृषि विज्ञहरूका अनुसार बोधिचित्त समुद्री सतहबाट एक हजार मिटरदेखि दुइ हजार मिटरसम्मको उचाइ भएको पहाडी र महाभारत पर्वत श्रृंखलाको भूभागमा निकै राम्रोसँग फस्टाउँछ ।

यसका लागि पहारिलो, प्रशस्त घाम लाग्ने र पानी नजम्ने सुक्खा वा ओसिलो दुवै प्रकारको माटो उपयुक्त हुन्छ । यो रूखको विशेषता के छ भने, यो धेरै स्याहार-सुसार नचाहिने र पथरीलो, भिरालो तथा अन्य खेती नहुने बाँझो जमिनमा पनि सजिलै हुर्कन सक्छ ।

बिरुवा रोपेको ३ देखि ५ वर्षभित्रै यसले व्यावसायिक रूपमा फल दिन सुरु गर्छ । यसको दाना जति सानो भयो जस्तै ७ देखि ९ मिलिमिटर र यसको मुख दानाको बाहिरी भागमा हुने प्राकृतिक रेखाहरू जति धेरै भयो, यसको मूल्य उति नै बढी हुन्छ।

तपाईको प्रतिक्रिया