कर्णाली तेक्वान्डोमा ‘आमा खेलाडी’ को चमत्कार: ३ महिनाको शिशु काखमा च्यापेर जितिन् स्वर्ण पदक



सुर्खेत । कर्णाली प्रदेशमा आयोजित ‘दोस्रो प्रदेश स्तरीय ITF तेक्वान्डो प्रतियोगिता’ मा एउटा यस्तो दृश्य देखियो, जसले उपस्थित सबैको मन जित्यो। प्रतियोगिताको फाइनल खेलमा भेरीगंगा नगरपालिकाकी २० वर्षीया भूमिका राझीले आफ्नो ३ महिनाको दुधे बालकलाई काखमा च्यापेर ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।

मातृत्त्वको जिम्मेवारी र खेलप्रतिको समर्पणलाई एकसाथ अघि बढाउँदै राझीले देखाएको साहसको अहिले चौतर्फी चर्चा भइरहेको छ।

प्रतियोगिताको समापन तथा पदक वितरण समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरे। प्रतियोगितामा प्रदेशका १० वटै जिल्लाका खेलाडीहरूको सहभागिता थियो।

महिला खेलाडीको साहसप्रति गर्व छ: उपाध्यक्ष हमाल
सहभागी खेलाडीहरूको प्रदर्शनबाट निकै प्रभावित बनेका उपाध्यक्ष हमालले भूमिका राझीको उदाहरण दिँदै कर्णालीमा महिला खेलकुदको भविष्य निकै उज्ज्वल रहेको बताए।

उनले भने, “३ महिनाको शिशु बोकेर प्रदेश स्तरीय प्रतियोगितामा उत्रिनु सामान्य कुरा होइन। यसले कर्णालीका महिला खेलाडीहरूमा खेलप्रतिको कति ठूलो उत्साह र दृढता छ भन्ने स्पष्ट पारेको छ। यस्ता खेलाडीको साहसप्रति हामीलाई गर्व छ।”

उपाध्यक्ष हमालले आगामी १०औं राष्ट्रिय खेलकुदमा पुरुष खेलाडीको तुलनामा महिला खेलाडीको सहभागिता बढी हुने दाबी गरे। साथै, खेलकुदको मैदानमा आमा खेलाडीहरूले भोग्नुपर्ने कठिनाइलाई मध्यनजर गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने नीति ल्याउने प्रतिबद्धता जनाए।

“भूमिका जस्ता साहसी खेलाडीहरू हाम्रो लागि प्रेरणाका स्रोत हुन्। जिम्मेवार निकायमा बसेका हामीले यस्ता खेलाडीलाई विशेष प्रोत्साहन र सहयोग पुग्ने गरी नयाँ नीति ल्याउनु आवश्यक छ,” हमालले भने।

प्रतियोगिताले कर्णालीको तेक्वान्डो क्षेत्रमा नयाँ उर्जा थपेको छ भने विशेषगरी महिला खेलाडीहरूको मनोबल उच्च बनाएको सरोकारवालाहरू बताउँछन्।

तपाईको प्रतिक्रिया