सुर्खेत । आफूलाई ‘जेन्जी अभियन्ता’ दाबी गर्ने सल्यानका २९ वर्षीय युवराज खड्का ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। सल्यान जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले खड्कालाई धरौटीमा छाड्न आदेश दिएको हो।
थुनछेक बहसपछि अदालतको आदेश बमोजिम खड्का मंगलबार साँझ नै धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत सल्यानले जनाएको छ। साइबर अपराध सम्बन्धी कसुरमा सल्यान प्रहरीले उनलाई असार ८ गते शारदा नगरपालिका–४ साइलाकम्दा क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले अनुसन्धान सकेर असार १२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो।


कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी खड्का गत भदौमा भएको जेन्जी आन्दोलनपछि सक्रिय थिए। उनले आफूलाई सामाजिक अभियन्ता र बेथिति विरुद्ध लड्ने व्यक्तिको रूपमा उनले प्रचार गर्दै आएका थिए।
अभियन्ताको आवरणमा खड्काले स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूसँग आर्थिक सहयोग माग्ने र सहयोग नगरे सामाजिक सञ्जालमार्फत जथाभाबी गालीगलौज तथा बदनाम गर्ने गरेको आरोप छ ।

खड्काको यस्तो हर्कत बढेपछि बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय, सल्यानमा साइबर अपराध सम्बन्धी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो ।
धराैटी बुझाएर रिहा भएका लगत्तै खड्काले आफू कमजोर नभई अझ दरिलो र अनुभवी भएर बाहिर आएको बताएका छन् । थुनामुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत सल्यानी नागरिकहरूलाई सम्बोधन गर्दै उनले आफ्नो लडाइँ जारी रहने संकेत गरेका हुन्।
लगभग ९ दिन प्रहरी हिरासतमा बिताएका खड्काले हिरासतभित्र आफूलाई घरमा आमासँग समेत फोन गरेर ‘म ठिक छु’ भन्न नदिइएको भन्दै दुःख व्यक्त गरेका छन्। संकटको बेला साथ, समर्थन र सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन् ।
उनले लेखेका छन्, ‘खेल त भर्खर सुरु हुँदैछ, खेल रोचक हुनेछ। भ्रष्ट, दलाल र बिचौलियाहरू सल्यानबाट सधैँका लागि लखेटिने दिन सुरु भइसकेको छ। यो लडाइँ तपाईं/हामी सबै मिलेर संयुक्त लड्ने हो ।’

नेपाल कर्म । १७ असार २०८३, बुधबार ११:१३