कर्णाली प्रदेश अन्तरविद्यालय क्रिकेट : विजया माविलाई हराउँदै उषा बाल वाटिका च्याम्पियन

सुर्खेत । उषा बाल वाटिका माध्यमिक विद्यालय, सुर्खेतले कर्णाली प्रदेश अन्तरविद्यालय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार वीरेन्द्रनगर मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा विजया माध्यमिक विद्यालय दैलेखलाई ६ रनले पराजित गर्दै उषा बाल वाटिकाले उपाधि उचालेको हो।



यो जितसँगै उषा बाल वाटिकाले अब राष्ट्रिय स्तरको प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछ । टस जितेर विजया माविले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको उषा बाल वाटिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

खेलमा विशाल सिंहले सर्वाधिक २२ रन बनाए भने प्रदीप सिंह १७ रनमा अविजित रहे । बलिङतर्फ विजया माविका कमल शाहीले किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

९७ रनको लक्ष्य पछ्याएको विजया मावि १९.३ ओभरमा ९० रनमै समेटियो । टोलीका लागि विजय बोहोराले ३२ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् ।

विजया माविलाई सस्तैमा समेट्न उषा बाल वाटिकाका लक्ष्मण शाह नायक बने । उनले उत्कृष्ट बलिङ गर्दै मात्र १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, योगेश आचार्यले पनि २ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे।

तपाईको प्रतिक्रिया