दैलेख । दैलेख जिल्लामा पछिल्लो समय सवारी दुर्घटना र त्यसबाट घाइते हुनेहरूको संख्या बढ्दै गएको पाइएको छ। विगतका वर्षहरूको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनाबाट हुने मृत्युको संख्यामा केही कमी आए पनि घाइतेको संख्या भने लगातार उकालो लागिरहेको हाे ।
जिल्लामा सडक दुर्घटना न्यूनीकरण तथा सचेतना अभिवृद्धिका लागि आइतबार दैलेख सदरमुकाममा आयाेजित कार्यक्रममा सडक दुर्घटनाको वर्तमान अवस्था, दुर्घटनाका प्रमुख कारणहरू र यसलाई कम गर्ने उपायबारे सरोकारवालाहरूबीच विस्तृत छलफल गरिएको थियो।


जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा स्वास्थ्य सेवा कार्यालय दैलेखले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्रै दैलेखमा ६७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा ६३ वटा दुर्घटनामा १४ जनाको मृत्यु र १७५ जना घाइते भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ६५ वटा दुर्घटनामा १० जनाको मृत्यु र १३८ जना घाइते भएका थिए भने आर्थिक वर्ष २०७९/८० मा ७७ वटा दुर्घटनामा १२ जनाको मृत्यु र १०४ जना घाइते भएको तथ्याङ्क छ ।
अधिकांश सडक दुर्घटनाहरू चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन (मापसे), सवारी साधनको प्राविधिक समस्या, जथाभाभी ओभरटेक र ट्राफिक नियम उल्लङ्घनका कारण हुने गरेका छन् ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सडक दुर्घटना न्यूनीकरण गर्नु राज्यको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताए । दुर्घटना रोक्नका लागि कानुनी कारबाही मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रजिअ सारुले सडक सुरक्षामा चालक, सहचालक, यात्रु र पैदलयात्री सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
‘प्रत्येक नागरिकले ट्राफिक नियमको पूर्ण पालना गर्ने र सवारी धनीले आफ्ना सवारी साधनको नियमित प्राविधिक जाँच गर्ने हो भने धेरै दुर्घटनाहरू टारेर अमूल्य ज्यान जोगाउन सकिन्छ,’ प्रजिअ सारुले भने, ‘यसका लागि समुदायस्तरमै जनचेतना अभिवृद्धि गरी जिम्मेवार सडक संस्कृतिको विकास गर्नुपर्छ ।’
कार्यक्रममा दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवणकुमार विश्वकर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक जयसिंह गुरु तथा स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य अधिकृत चक्र शाहीले ट्राफिक नियमको पालना, सडक सुरक्षाको महत्त्व र दुर्घटना न्यूनीकरणका व्यावहारिक उपायहरूका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, स्वास्थ्य सेवा कार्यालय दैलेखका इन्चार्ज डा. मनोज विश्वकर्मा लगायत स्थानीय सरोकारवाला, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाल कर्म । ७ असार २०८३, आईतवार २१:४५