छानबिन कि ढाकछोप ? भावनाको सिन्दूर पुछिँदा पनि क्षेत्राधिकारको बहाना बनाउने कस्तो प्रतिवेदन ?

सुर्खेत । गत चैत ३० गते कालिकोट नरहरिनाथ-३ का राजकुमार विष्टको मनमा बेग्लै उमङ्ग थियो । घरमा नयाँ पाहुना भित्रिँदै थिए, भावना विष्टको कोखबाट दाेस्राे सन्तान जन्मने तरखरमा थियो ।



विकट कालिकोटको गाउँबाट सुखद भविष्यको सपना बोकेर यो दम्पती सुर्खेत झरेको थियो । तर, वैशाखको सुरुवातसँगै विष्ट परिवारमा यस्तो बज्रपात आइलाग्यो, जसले राजकुमारको संसार उजाड बनाइदियो ।

सुर्खेतस्थित प्रदेश अस्पतालमा सुत्केरी गराउन पुगेकी २७ वर्षीया भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । घटनापछि आक्रोश र न्यायको माग चर्किएपछि सामाजिक विकास मन्त्रालयले एउटा छानबिन समिति गठन गर्‍यो ।

१० बैशाख २०८३ मा मन्त्रालयका मन्त्री घनश्याम भण्डारीको अध्यक्षमा प्रदेश स्वास्थ्य समन्वय समितिको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीको संयोजकत्वमा एन.एम.सीका प्रतिनिधि वरिष्ठ स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी र मन्त्रालयकै उपसचिव देवीप्रसाद पौडेल सदस्य थिए ।

हालै उक्त समितिले आफ्नो छानबिन प्रतिवेदन मन्त्रालयमा बुझाएकाे छ । तर त्यो प्रतिवेदनले पीडित परिवारको घाउमा मलम लगाउनुको साटो थप नुनचुक छर्किने काम गरेको छ।

मृतकका श्रीमान राजकुमार विष्टले प्रतिबेदनमा उल्लेखित निष्कर्षहरूमाथि गम्भीर शंका र आपत्ति जनाएका छन्। उनले अस्पताल र चिकित्सकहरूको चरम लापरबाहीलाई ढाकछोप गर्न सरकारी तहकै मिलेमतोमा यस्तो प्रतिवेदन ल्याइएको आरोप लगाएका छन्।

नगर अस्पतालदेखि प्रदेश अस्पतालसम्म पुग्दा भावनाको प्रसूति व्यथा र स्वास्थ्य जाँचको कथा चैत ३० गतेबाट सुरु हुन्छ ।  सोही दिन बिहान साढे ९ बजे भावनालाई महिला तथा बालबालिका नगर अस्पताल सुर्खेत पुर्‍याइएको थियो ।

त्यहाँ जाँच गर्दा उनको रक्तचाप १६० र १०० थियो । हातगोडा र अनुहार सुनिएका थिए । नगर अस्पतालले प्रारम्भिक औषधि दिएर रक्तचाप केही कम १४० र ९० गराएपछि थप जटिलता नहोस् भनेर हातमा क्यानुला समेत जोडी दिउँसो ४ बजे कर्णाली प्रदेश अस्पतालमा रिफर गर्‍यो ।

दिउँसाे ४ बजे भावनालाई प्रदेश अस्पतालमा भर्ना गरियो । अस्पतालको रिपोर्ट अनुसार उनलाई अत्याधिक उच्च रक्तचापका कारण आउने छारे रोग जस्तो जटिल अवस्था थियो ।

चिकित्सकहरूले आकस्मिक रूपमा शल्यक्रिया गरे बच्चा त निकाले ।  सुरुमा बच्चा र आमाको अवस्था सामान्य रहेको जानकारी परिवारलाई दिए । तर, राजकुमार विष्टको भनाइमा अस्पतालको लापरबाही त्यही बिन्दुबाट सुरु भयो ।

‘सुरुमा सबै ठीक छ भने,’ राजकुमार भन्छन्, ‘तर बिरामीको अवस्था बिग्रिँदै जाँदा पनि डाक्टरहरूले त्यसलाई सामान्य रूपमा लिए, घण्टौँसम्म कुराएर राखे र समयमै सही कदम चालेनन्।’

अस्पतालको जवाफ अनुसार पहिलो शल्यक्रियापछि भावनाको रक्तचाप नियन्त्रण भएन र मृगौलाले काम गर्न छोड्यो । रगतमा अक्सिजनको मात्रा घट्यो । घाउको पट्टी रगतले भिजेपछि वैशाख २ गते उनको दोस्रो पटक शल्यक्रिया गरियो ।

राजकुमार विष्टले छानबिन समितिमा दिएको लिखित निवेदनमा भनिएको छ, ‘दोस्रो पटक अप्रेशन गर्नुपूर्व हामीलाई कुनै जानकारी दिइएन । अप्रेशन गरिसकेपछि मात्रै झुक्याएर मन्जुरीनामा गराइयो । भावनालाई भेन्टिलेटर कक्षमा राखिँदा उनको आँखामा रगत देखिएको र त्यसमा सेतो टेप टाँसिएको थियो।’

एउटा सुत्केरी महिलाको आँखामा रगत किन आयो अनि त्यसमा सेतो टेप किन टाँसियो यसको जवाफ अहिलेसम्म अस्पतालले नदिएको भन्दै राजकुमारले आक्रोश पोखेका छन् ।

‘चैत ३० देखि वैशाख ४ गतेसम्म डाक्टरहरू बिरामीको अवस्था बुझ्न नियमित राउन्डमा समेत आएनन् । जब स्थिति नियन्त्रण बाहिर गयो, अस्पतालले आफ्नो जिम्मेवारीबाट पन्छिएर अवस्थामा केही सुधार भएको छ भन्दै झुक्याएर अन्तिम अवस्थामा मात्र वैशाख ४ गते काठमाडौँको मेडिसिटी अस्पतालका लागि रिफर गरियाे,’ उनले भने ।

तर काठमाडौँ पुगेलगत्तै भावनाले सधैँका लागि संसार छाडिन । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृष बहादुर शाहीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले कर्णालीको समग्र स्वास्थ्य अवस्था, भौगोलिक विकटता र विगत ३ वर्षको मातृ मृत्युको डरलाग्दो तथ्याङ्क जहाँ वर्षेनी दर्जनौँ आमाहरूले ज्यान गुमाइरहेका छन् समावेश गरेर प्रतिवेदन तयार गरेकाे छ ।

तर, जुन मुख्य विषयमा छानबिन हुनुपर्ने थियो, त्याे नभएर समिति निरीह भएसरी मौनु देखिएको पीडित विष्ट बताउछन् । प्रतिवेदनको बुँदा नम्बर १०.१ मा भनिएको छ, चिकित्सकीय लापरबाही तथा त्रुटि भएको विषयमा समिति प्रवेश गर्न सकेकाे छैन् ।

समितिले नेपाल मेडिकल काउन्सिल ऐनको हवाला दिँदै चिकित्सकको आचारसंहिता र कारबाहीको पाटो आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै सम्बन्धित निकायबाट थप छानबिन गर्न उपयुक्त हुने सुझाव दिएर पन्छिएको छ।

प्रतिवेदनले व्यवस्थापकीय सुधारका लागि करारमा कर्मचारी भर्ना गर्ने अधिकार अस्पताललाई दिने जस्ता प्रशासनिक कुरामा जोड दिएको छ । तर एउटा जीवित मान्छे कसरी अस्पतालको बेडमा लास बन्न पुग्यो भन्ने ठोस निष्कर्ष दिन सकेको छैन ।

‘घटना ढाकछोप गर्ने गरी सरकारी बचाउमा प्रतिवेदन आउँछ भन्ने हामीलाई पहिले नै शंका थियो,’ मृतकका श्रीमान विष्ट भन्छन्, ‘यो प्रतिवेदनले पीडित परिवारलाई न्याय दिनुको साटो थप पीडाबोध गराएको छ । डाक्टरहरूको अनुपस्थिति, बिना जानकारी गरिएको दोस्रो शल्यक्रिया र ढिला गरी गरिएको रिफर नै मेरो श्रीमतीको मृत्युको कारण हो ।’

कर्णाली प्रदेश अस्पताल प्रदेशकै सबैभन्दा बढी चाप हुने विशिष्टीकृत अस्पताल हो । तर, दुर्गमबाट आएका निमुखा नागरिकले उपचारका नाममा ज्यानै गुमाउनुपर्ने र न्याय माग्दा क्षेत्राधिकारको प्राविधिक बहाना बनाएर दोषीलाई उम्काउने खेल हुनुले समग्र स्वास्थ्य प्रणालीमाथि प्रश्न खडा गरेको छ ।

भावना विष्टको त मृत्यु भयो, तर उनका श्रीमानको आँखामा रहेका प्रश्न र न्यायको खोजीले सुर्खेतको प्रशासन र स्वास्थ्य क्षेत्रलाई फेरि पनि प्रश्न जीवितै राखेर प्रतिवेदन ल्याइएकाे छ ।

तपाईको प्रतिक्रिया