अगुवा कृषकलाई सुर्खेतमा परागसेचकमैत्री कृषि तालिम

सुर्खेत । अगुवा कृषकहरूका लागि सञ्चालित सात दिने ‘परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम’ बिहीबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हर्ड इन्टरनेसनल अन्तर्गत सञ्चालित नेपाल परागसेचन परियोजनाको आयोजनामा वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाका १० जना अगुवा कृषकहरूलाई जेठ २२ देखि २८ गतेसम्म तालिम दिइएको हो ।



कृषि क्षेत्रमा परागसेचकहरूको महत्त्वबारे कृषकहरूलाई जानकारी गराउँदै दिगो कृषि प्रणालीको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिमको मुख्य उद्देश्य परागसेचन सम्बन्धी सचेतना अभिवृद्धि, जैविक विविधताको संरक्षण, दिगो तथा वातावरणमैत्री कृषि अभ्यासलाई प्रवद्र्धन तथा कृषि अनुसन्धान क्षमता सुदृढ गर्नु रहेको आयोजकले जनाएको छ । यस्तै, तालिममार्फत नीति निर्माण प्रक्रियामा योगदान पुर्‍याउँदै राष्ट्रियस्तरको परागसेचन रणनीतिलाई सहयोग पुर्‍याउने लक्ष्य समेत राखिएको छ ।

तालिमको सहजीकरण हर्ड इन्टरनेसनलका जिल्ला कृषि अधिकृत चक्रपाणी अधिकारी तथा जिल्ला कृषि प्राविधिक टोपेन्द्र कुमार थापाले गरेका थिए । साथै, कर्णाली प्रदेश अन्तर्गत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट आमन्त्रित विषय विज्ञ प्रशिक्षकहरूले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

नेपाल परागसेचन परियोजना अन्तर्गत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका १२ जिल्लाका २४ स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आगामी चार वर्षसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ । परियोजनाले जैविक विविधता संरक्षण, बाली उत्पादन वृद्धि, किसानको आयआर्जनमा सुधार तथा खाद्य एवं पोषण सुरक्षामा टेवा पुर्‍याउने लक्ष्य लिएको छ ।

हाल सुर्खेतको वीरेन्द्रनगर र चिङ्गाडमा प्रारम्भिक चरणमा पालिका अभिमुखीकरण, छनोट गरिएका कृषि बाली वस्तुहरूको उत्पादन योजना निर्माण तथा कार्यान्वयन रणनीति तयार गर्ने कार्यहरू अगाडि बढाइएको छ ।

तालिमबाट स्थानीय कृषकहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि हुनुका साथै परागसेचक संरक्षण र दिगो कृषि प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस परियोजनाका साझेदार संस्थाहरूमा नेपाल सरकार, डार्विन इनिसिएटिभ, ब्रिस्टल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा स्थानीय पहल जैविक विविधता, अनुसन्धान तथा विकास संस्था रहेका छन् ।

तपाईको प्रतिक्रिया