सुर्खेत । कर्णालीका पहाडहरू जति सुन्दर छन्, यहाँको शिक्षाको भित्री पाटो उति नै उजाड र टिठलाग्दो छ। दैलेख बजारबाट पश्चिममा पर्ने भैरवी गाउँपालिका–७ कुसापानी गाउँ-बस्ती छ । त्यही बस्तीका दुई सयभन्दा बढी बालबालिकाहरू भगवती आधारभूत विद्यालयमा पढ्छन् ।
उनीहरूलाई कर्णालीको अँध्यारोबाट उज्यालोतिर डोर्याउने कसम खाएका प्रधानाध्यापक (प्रअ) जयबहादुर बराल मगर विगत तीन महिनादेखि एकाएक वेपत्ता छन् । राज्यले एउटा जिम्मेवार शिक्षकलाई विद्यालयको तालाचाबी बुझाएर पठाएको थियो । तर, ती सारथि नै आफ्ना विद्यार्थीहरूलाई भुमरीमा छाडेर हिँडेपछि अहिले यो विद्यालय नेतृत्वविहीन छ ।


शिक्षक अनुपस्थित भएको याे सामान्य घटना मात्र होइन, यसले शिक्षा क्षेत्रमा मौलाएको चरम गैरजिम्मेवारीपनको उदाहरण पुष्टि गरेकाे छ। २०७१ सालदेखि सोही विद्यालयमा श्रम पसिना बगाएका र २०७५ मा स्थायी भएपछि प्रधानाध्यापकको कुर्सी सम्हालेका बराल गत फागुनदेखि विद्यालयको दैलोमा देखिएका छैनन्।
उनी २०८२ सालको बार्षिक परीक्षाजस्तो बालबालिकाको जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षणमासमेत उनी सहभागी भएनन् । विद्यालयमा पाइला नै नटेकी ६ महिनासम्मको किर्ते हाजिरी खडा गरेर राज्यकोषबाट फागुनसम्मको तलब उनले एकमुस्ट बुझेकाे आरोप स्थानीयकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेलले प्रधानाध्यापक सम्पर्कविहिन भएकाे खवर सत्य भएकाे पुष्टि गरेका छन् । उनी भन्छन्, ‘फागुनसम्म कहिले आउने, कहिले जाने क्रम चल्दै थियो। त्यसयता त उहाँ पूर्ण रूपमा विद्यालयको सम्पर्क बाहिर हुनुहुन्छ। हामीले बारम्बार स्कुल आउन भनेर खबर पठायौं, तर हाम्रो कुरा कहीँ कतै सुनिएन ।’
प्रधानाध्यापक बराल कुनै साधारण समस्याले नभई गुपचुप रूपमा आफैले पढाएको विद्यार्थीलाइ भगाएर कानुनी र सामाजिक झमेलाबाट बच्न रातारात भारतको बेंगलोरतिर भागेकाे आरोप स्थानीयले लगाएका छन् ।

यता विद्यालयका निमित्त प्रधानाध्यापक धनबहादुर थापा भने अझै पनि मध्यमार्गी बाटो खोज्ने प्रयासमा देखिन्छन्। उनले बराललाई तत्काल हाजिर हुन र नभए कडा कानुनी एवं विभागीय प्रक्रिया अघि बढाउनेसहितकाे चेनावनी पठाइसकिएकाे जानकारी दिए।
‘केही व्यक्तिगत र पारिवारिक तनावका कारण उहाँको उपस्थिति अनियमित भएको सत्य हो,’ निमित्त प्रअ थापाले भने, ‘वार्षिक परीक्षामा उहाँ सहभागी हुनुभएन। तर, अहिले ‘म आउँछु, सञ्चिति विदा मिलाएर फेरि पढाउँछु’ भन्ने अपुष्ट आश्वासन हामीले पाएका छौं।’
२०४६ सालमा स्थापना भएको यस विद्यालयले २०६७ सालदेखि कक्षा ८ को पढाइ सुरु गरेको हो । हाल यहाँ दुई सय जना विद्यार्थी पढ्न स्कुल जाने गरेका छन् । तर, उनीहरूलाई पढाउने शिक्षकको संख्या हेर्ने हो अप्रयाप्त छ । विद्यालयमा दरबन्दीका २, राहतका २ र संघीय अनुदानका १ जना गरी जम्मा ५ जना शिक्षकको भरमा सिङ्गो विद्यालय धानिएको छ।
कक्षा कोठाको अनुपातमा शिक्षक नहुँदा विद्यार्थीको पढाइ सधैं डामाडोल हुने गरेको स्थानीयको गुनासो छ। प्रधानाध्यापक नै भारतको बेंगलोर निस्किएपछि स्थानीय आक्रोशित बनेका छन् ।
‘बालबालिकाको भविष्य तय गर्ने विद्यालय यसरी थला पर्दा पनि स्थानीय सरकार किन मौन बसेको हो ?’ एक स्थानीयले प्रश्न गरे, ‘हामीले पटक-पटक हारगुहार गर्यौं, तर सिंहदरबार गाउँमा आए पनि गरिबका छोराछोरीको पीडा कसैले सुनेनन् ।’
यस विषयमा भैरवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख उमेश कार्कीसँग वास्तविकता बुझ्न खोज्दा उनको फोन उठेन । शिक्षा शाखाले विद्यालयमा पुगेर बरालको हाजिरी काटेको विद्यालयले जनाएकाे ।

सुशील खड्का । २८ जेष्ठ २०८३, बिहीबार १५:४०