सुर्खेत । पहाडका छाती चिरेर जब सडकका रेखाहरू कोरिन थाल्छन्, तब गाउँलेका आँखाहरूमा समृद्धिका सपनाहरू पलाउनु स्वाभाविकै हो । मध्य सुर्खेतलाई सुदूरपश्चिमको डोटीसँग जोड्ने रणनीतिक महत्व बोकेको मदन भण्डारी राजमार्ग २०७९ सालदेखि पश्चिम सुर्खेतको भूगोलमा प्रवेश गर्याे । त्यसपछि यहाँका बासिन्दाले बर्षौंदेखिको कष्टकर यात्रा फेरिने आस पालेका थिए ।

आयोजनाले सुरुवाती दिनमा लिएको गति देख्दा लाग्थ्यो अब पश्चिम सुर्खेतले विकासको गति तय गर्नेछ । तर, पछिल्लाे समय स्थानीयकाे सडक सपनामा ब्रेक लागेको छ। अहिले ४७ किलोमिटरको यो सडक खण्डकाे काम राेकिएकाे छ ।
पेट्रोलियम पदार्थको लगातारको मूल्यवृद्धि, कालोपत्रेका लागि आवश्यक विटुमिन (अलकत्रा) को चरम अभावले अरबौंका दुई ठूला प्याकेज अहिले सुस्ताएका छन्। हेर्दाहेर्दै पिच हुने तरखरमा रहेका सडकहरू धुलाम्मे र हिलाम्मे नियतिमै फर्किएका छन्।

विद्यापुर डाँडा–विजौरा–बल्दे खण्डको २३ किलोमिटर सडक निर्माण २०७९ फागुन १७ गतेबाट सुरु भएको हो । निर्माणको जिम्मा पाएको बानियाँ मोतिदान डी.एस. जेभी काठमाडौँले जसरी सुरुमा द्रुत गतिमा काम अघि बढाएको थियो ।
त्यसले स्थानीयमा आगामी २०८२ फागुनको भाका अगावै गाडी गुड्ने विश्वास जगाएको थियो। तर, २३ मध्ये १५ किलोमिटर सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइसकेपछि आयोजनाको गति एकाएक राेकिएकाे छ । विजौरामा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै परिवर्तन गर्नु पर्ने भएपछि त्यहाँकाे काम तत्कालै नहुने निश्चित भएकाे छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार, काम अन्तिम चरणमा पुगेका बेला बजारमा विटुमिन नै पाइन छाडेकाले झण्डै सात किलोमिटर सडक कालोपत्रे हुनबाट रोकियो।

‘यसमा १२ सय मिटर विजौराको विवादित खण्ड, २ किलोमिटर गुटु बजार क्षेत्र र बाँकी केही स्थानमा छिटपुट काम पर्छ। सुरुमा स्थानीयले रोकेको गुटुमा अहिले काम गर्ने वातावरण त बन्यो, तर निर्माण व्यवसायीले कालोपत्रे गर्ने कच्चा पदार्थ नै जुटाउन सकेका छैनन्,’ उनी भन्छन् ।
यता, पश्चिम सुर्खेतकै दोस्रो खण्ड २५ किलोमिटरको बल्दे-लगाम सडकको समस्या नि उस्तै छ। १ अर्ब ३६ करोड रुपैयाँको लागतमा दिवा यती जेभी काठमाडौँले निर्माण गरिरहेको यो खण्डको म्याद २०८४ भदौसम्म छ। याे सडक १४ भदौ २०८१ मा सम्झौता गरेर निर्माण थालिएकाे हो ।
तर, हालसम्म सिमल खेतसम्म मात्रै काम सकिएको छ। असार अगावै चौर खोलादेखि विद्यापुर डाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिए पनि विटुमिनकै अभावले काम ठप्प छ। आयोजना स्थलमा अहिले छिटपुट नाला सफा गर्ने र सपोर्ट वाल उठाउने बाहेक मुख्य काम ठप्प प्रायः छ।
यस आयोजनाको सबैभन्दा विवाद देखिएकाे सिमल खेतबाट लगाम जोड्ने पाँच किलोमिटर खण्डमा आएर अड्किएको छ। स्वीकृत प्राविधिक नक्सा (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) ले सडकलाई डाँडाको बाटो लैजाने तय गरेको थियो।


तर, स्थानीय बासिन्दा भने सडक डाँडाबाट होइन, आफ्नै बस्तीको बीचबाट लैजानुपर्ने अडानमा छन्। यही विवादकै बीच बस्तीतर्फ पर्ने खण्डका रुखहरू अज्ञात समूहले रातारात कटान समेत गरिसकेको छ। डाँडाबाट सडक लैजाँदा लागत बढ्ने र मोडहरू धेरै हुने भएकाले बस्तीबाटै लैजाँदा दूरी र खर्च दुवै कम हुने स्थानीयको तर्क छ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक पनि स्थानीयको मागप्रति केही सकारात्मक देखिन्छन्। पालिकाले विवाद सुल्झाउन सहजीकरण गरिरहेको उल्लेख गर्दै उनी बस्तीबाट सडक लैजाँदा लामो नहुने र यसमा आयोजना निर्देशनालय पनि सकारात्मक रहेको बताउँछन्।
याेजना कार्यालयकाअनुसार यसकाे निर्क्याैंल गर्न यहीँ साता साविककै रेखाकंनबाट वा नयाँ क्षेत्रबाट लैजाने भन्ने टुंगाे लाग्दैछ । कच्चा पदार्थको अभाव र स्थानीय समन्वयको समस्याले मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा सडक निर्माणमा झन ढिला हुने त हैन भन्ने संशय पैदा गरिदिएको छ।
जिल्लाको पूर्वी भाग गुर्भाकोट नगरपालिकाको भेडावारीबाट सुरु हुने मदन भण्डारी राजमार्ग पश्चिम चौकुने गाउँपालिकाको पाल्पाघाट हुँदै सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला प्रवेश गर्छ ।
सुर्खेतका गुर्भाकोट, लेकवेशी, वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका प्रत्यक्ष लाभग्राही हुन् । सुर्खेतको मध्य भाग भएर पूर्व–पश्चिम जोड्ने सडकलाई जिल्लाकै ‘लाइफलाइन’ का रूपमा हेरिएको छ ।
जिल्लाभित्र मात्रै करिब १७७ किलोमिटर फैलिएको यस राजमार्गले भौगोलिक दूरी घटाउँदै नागरिकको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा छ । राजमार्ग अन्तर्गत सल्यान जिल्लाकाे सीमाना बालुवा संग्रहीदेखि बड्डीचौरसम्म ८३ किलोमिटर तथा बड्डीचौर–लगाम–पाल्पाघाट खण्ड ९४ किलोमिटर सडक पर्छ । यसअघि सुर्खेत पूर्वमा पर्ने बोटेचौर–मालारानी–दाङ तुलसीपुर जोड्ने सडक अहिले घुमाएर सल्यानको बालुवासंग्रही–कुपिण्डे–श्रीनगर–बाघचौरबाट रोल्पा जोडिएको छ ।
रैकर–बोटेचौर–भेडावारी र धुलियाविट–बाँगेशीमल–बड्डीचौर सडक खण्ड यसअघि नै कालोपत्रे भइसकेका छन् । तर बोटेचौर–मालारानी–दाङ तुलसीपुर सडक पूर्ण रूपमा कालोपत्रे भएपछि मध्य नेपालका दाङ–बुटवल–काठमाडौं जाने सवारीहरू यहीँ सडक भएर गुड्ने गरेका छन् ।

सुशील खड्का । २४ जेष्ठ २०८३, आईतवार ११:०३