मेयर कप फाइनल आज: उपाधिका लागि वीरेन्द्रनगर र जुम्ला बीच महाभिडन्त हुँदै



“प्रथम कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३” को ऐतिहासिक उपाधिका लागि आज बिहीबार दिउँसो आयोजक वीरेन्द्रनगर नगरपालिका र जुम्ला बीच कर्णाली प्रदेश रङ्गशालामा महाभिडन्त हुँदैछ। बुधबार सम्पन्न रोमान्चक सेमिफाइनल खेलहरूमा आ-आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै यी दुई उत्कृष्ट टोलीहरू फाइनलको यात्रा तय गर्न सफल भएका हुन्। दिउँसो ठीक ३:०० बजे सुरु हुने यस फाइनल खेललाई लिएर सुर्खेतको वीरेन्द्रनगर रङ्गशाला वरपरको माहोल निकै तातिएको छ भने दर्शकहरूको उपस्थिति पनि निकै बाक्लो हुने अनुमान गरिएको छ।

उपाधि भिडन्तका लागि मैदान उत्रिन लागेका दुवै टोली निकै बलिया र उच्च मनोबलका साथ तयारी अवस्थामा छन्। आयोजक वीरेन्द्रनगर नगरपालिकाले बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पञ्चपुरी नगरपालिकालाई पेनाल्टी सुटआउट (टाइब्रेकर) मा ६–५ को कठिन गोल अन्तरले स्तब्ध पार्दै फाइनलको टिकट काटेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि वीरेन्द्रनगरका गोलरक्षक सब बुढामगर शाहीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउनुभएको थियो। घरेलु मैदान र हजारौँ स्थानीय समर्थकहरूको हुटिङको फाइदा उठाउँदै उपाधि घरमै राख्ने दाउमा वीरेन्द्रनगर रहेको छ।

त्यस्तै, बुधबारै दिउँसो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सिम्ता गाउँपालिकालाई ३–० को फराकिलो गोल अन्तरले पन्छाउँदै जुम्लाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। जुम्लाका लागि देवीजंग खत्री, धर्मेन्द्र कुँवार र नवराज गिरीले उत्कृष्ट गोल गर्दै टोलीलाई सानदार जित दिलाएका थिए। प्रतियोगिताभरि आक्रामक र कडा रक्षापङ्क्तिको प्रदर्शन गरिरहेको जुम्ला आज वीरेन्द्रनगरलाई उसैको मैदानमा चुनौती दिँदै ऐतिहासिक ट्रफी चुम्ने दाउमा छ। जेठको टन्टलापुर गर्मी र घामको प्रवाह नगरी छाता ओढेरै भए पनि आफ्ना खेलाडीहरूलाई समर्थन गर्न हजारौँ फुटबल प्रेमी दर्शकहरू रङ्गशाला पुग्ने क्रम सुरु भइसकेको छ। यस ऐतिहासिक महाभिडन्तको प्रत्यक्ष प्रसारण GoalNepal.com मार्फत अनलाइनमा समेत हेर्न सकिनेछ।

तपाईको प्रतिक्रिया