टाइब्रेकरमा पञ्चपुरीलाई स्तब्ध पार्दै वीरेन्द्रनगर फाइनलमा



वीरेन्द्रनगर, सुर्खेत | वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा जारी “प्रथम कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक वीरेन्द्रनगर नगरपालिका रोमाञ्चक टाइब्रेकरमा पञ्चपुरी नगरपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयको खेल दुवै टोलीबाट गोलरहित (०–०) बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउट (टाइब्रेकर) बाट लिइएको थियो। टाइब्रेकरमा वीरेन्द्रनगरले ६–५ को कठिन जित निकाल्दै प्रतियोगिताको पहिलो फाइनलिस्ट बन्न सफल भएको हो। उपाधि भिडन्तका लागि निकै महत्त्वपूर्ण मानिएको यस खेलमा सुरुदेखि नै दुवै टोलीले रक्षात्मक र रणनीतिपूर्ण खेल प्रदर्शन गरेका थिए।

खेलको पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि बलियो डिफेन्स र गोलरक्षकहरूको चुस्तताका कारण स्कोरलाइन तोड्न सकेनन्। निर्धारित समयको खेलभरि मैदानमा निकै तनावपूर्ण र आक्रामक प्रतिस्पर्धा देखिएको थियो, जसका कारण रेफ्रीले दुवै टोलीका खेलाडीहरूलाई चेतावनीस्वरूप पहेँलो कार्ड समेत देखाउनुपरेको थियो। खेलको ५१औँ मिनेटमा वीरेन्द्रनगरका ७ नम्बर जर्सीका खेलाडी र ७३औँ मिनेटमा ३ नम्बर जर्सीका खेलाडीले पहेँलो कार्ड पाएका थिए भने पञ्चपुरीका ११ नम्बर जर्सीका खेलाडीले खेलको ८०औँ मिनेटमा पहेँलो कार्ड सामना गर्नुपरकेो थियो। खेलको अन्तिम समयसम्म पनि गोल हुन नसक्दा दुवै टोलीका प्रशिक्षकहरूले खेलाडी परिवर्तन गर्दै रणनीति बदल्ने प्रयास गरेका थिए।

पेनाल्टी सुटआउटमा खेल पुगेपछि दुवै टोलीका खेलाडी र समर्थकहरूमाझ ढुकढुकी बढेको थियो। टाइब्रेकरमा वीरेन्द्रनगरका तर्फबाट प्रहार गरिएका सुरुवाती प्रहारहरूमध्ये जर्सी नम्बर १३, ३, ७७, १०, ६६ र १६ का खेलाडीहरूले बललाई जाली चुमाउन सफल भए भने जर्सी नम्बर ५ को प्रहार असफल भएको थियो। अर्कोतर्फ, पञ्चपुरीका तर्फबाट जर्सी नम्बर ११, १०, १९, १२, ३ र २ का खेलाडीहरूले गोल गर्न प्रयास गरे पनि पञ्चपुरीका जर्सी नम्बर ७ र २ का खेलाडीले पेनाल्टी मिस गर्न पुगे। पञ्चपुरीको अन्तिम प्रहारलाई रोक्दै वीरेन्द्रनगरका गोलरक्षक १६ नम्बर जर्सीका सब बुढामगर शाहीले टोलीलाई फाइनलको यात्रा गराउनुभयो। खेलभरि उत्कृष्ट बचाउ गर्दै टाइब्रेकरमा निर्णायक भूमिका खेल्नुभएका वीरेन्द्रनगरका गोलरक्षक सब बुढामगर शाही खेलको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) घोषित हुनुभयो।

तपाईको प्रतिक्रिया