कर्णालीको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को: अब वीरेन्द्रनगरले निशुल्क रगत दिने

सुर्खेत । कर्णालीबासीले रगतकै अभावमा वा पैसा नभएकै कारण जीवन मरणको दोसाँधमा बस्नुपर्ने छैन । कर्णालीका कुना-काप्चाबाट प्रदेश अस्पतालमा उपचारका लागि आउने हजारौँ नागरिकको सारथी अब वीरेन्द्रनगर नगरपालिका बनेकाे हाे । कर्णाली प्रदेश राजधानीकाे नगरपालिका वीरेन्द्रनगर सुर्खेतले सम्पूर्ण कर्णालीबासीका लागि एउटा ऐतिहासिक र मानवीय सम्झाैता गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशभरिका जुनसुकै जिल्लाबाट आउने बिरामीले पनि प्रदेश अस्पताल वीरेन्द्रनगर तथा अन्य स्थानीय स्वास्थ्य संस्थाहरुमा निशुल्क रगत पाउने छन् ।



आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा विनियोजित बजेटमार्फत वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतबीच विधिवत रुपमा सम्झौता गरिएकाे छ ।

नगर प्रमुख मोहनमाया ढकाल र रेडक्रस शाखा सुर्खेतका सभापति रामलाल आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । याे सम्झाैता एउटा सरकारी कागज मात्रै होइन, बरु उपचारका लागि भौंतारिने हजारौँ नागरिकका लागि भरोसाको दस्तावेज हो ।

सम्झौता अनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा संचालित ब्लड बैंकबाट बिरामीहरुले यो नि:शुल्क सेवा प्राप्त गर्नेछन् ।

यो सेवा चालु आर्थिक वर्षका लागि मात्र नभई आगामी वर्षहरुमा पनि निरन्तर अघि बढाउने गरी सम्झौतामै उल्लेख गरिएको छ ।

यसले गर्दा सेवाको दिगोपन सुनिश्चित भएको छ र अब नागरिकलाई उपचारका क्रममा थप सहज हुने विश्वास नगर प्रमुख माेहनमाया ढकालकाे छ ।

‘स्वास्थ्य सेवा नागरिकको मौलिक हक हो । कर्णालीका दुर्गम क्षेत्रबाट उपचारका लागि यहाँ आउने बिरामीहरु आर्थिक अभाव र रगतको खोजीमा समस्यामा नपरुन् भन्ने हाम्रो उद्देश्य हो । यस कदमले समग्र स्वास्थ्य सेवा प्रवाहमा ठूलो सहयोग पुग्ने अपेक्षा हामीले राखेका छौँ,’ ढकालले भनिन् ।

त्यस्तै, प्रदेश अस्पतालका प्रमुख डाक्टर गणेश थापाले नगरपालिकाको यो मानवीय कदमको स्वागत गर्दै भने, ‘अस्पतालमा उपचारका लागि आउने धेरै बिरामी र तिनका आफन्त रगतको व्यवस्थापन र शुल्कका कारण तनावमा देखिन्थे । नगरपालिकाको यो निर्णय र रेडक्रससँगको सम्झौताले बिरामीलाई थप ठूलो सहयोग पुग्नेछ । अब नागरिकले रगतका लागि पैसाको चिन्ता गर्नुपर्ने छैन ।’

दुर्गम गाउँबाट सापट मागेको केही हजार रुपैयाँ बोकेर प्रादेशिक राजधानी झर्ने नागरिकका लागि यो निर्णयले राज्य भएको महसुस गराएको छ ।

रगत जस्तो अमूल्य चिजलाई नि:शुल्क र सहज उपलब्ध गराएर वीरेन्द्रनगर नगरपालिकाले स्थानीय सरकार हुनुको वास्तविक अर्थकाे व्याख्या गरेकाे छ ।

तपाईको प्रतिक्रिया