चौकुनेलाई २–१ ले हराउँदै जुम्ला सेमिफाइनलमा प्रवेश



वीरेन्द्रनगर, सुर्खेत | वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा जारी “प्रथम कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत सोमबार सम्पन्न रोमाञ्चक क्वाटरफाइनल भिडन्तमा जुम्लाले चौकुने गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। पहिलो हाफमा जुम्लाले बनाएको सुरुवाती अग्रतालाई दोस्रो हाफमा चौकुनेले बराबरी गरे पनि जुम्लाका कप्तानले पुनः उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाउनुभयो। खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले सेमिफाइनल यात्राका लागि मैदानमा निकै प्रतिस्पर्धात्मक र आक्रामक खेल प्रदर्शन गरेका थिए।

खेलको पहिलो हाफमा जुम्लाले चौकुनेमाथि लगातार दबाब सिर्जना गरेको थियो। यसै दबाबका बीच खेलको २३औँ मिनेटमा जुम्लाका कप्तान योधा शाहीले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को महत्त्वपूर्ण अग्रता दिलाउनुभयो। पहिलो हाफमा थप गोल हुन सकेन र जुम्ला १–० को अग्रतासहित दोस्रो हाफमा मैदान उत्रियो। दोस्रो हाफमा चौकुनेले खेलमा उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो र लगातार आक्रमण बुन्यो। त्यसैको नतिजा स्वरूप खेलको ६७औँ मिनेटमा चौकुनेका लागि खगेन्द्र भट्टले सानदार गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएर खेलमा नयाँ मोड दिनुभयो।

तर, चौकुनेको यो खुसी धेरै समय टिक्न पाएन। खेल बराबरी भएको ठीक तीन मिनेटपछि अर्थात् ७०औँ मिनेटमा जुम्लाका कप्तान योधा शाहीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पुनः २–१ को स्थितिमा पुर्‍याउनुभयो। खेलको अन्तिम समयसम्म चौकुनेले खेल बराबरी गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि जुम्लाको बलियो डिफेन्सका कारण थप गोल हुन सकेन र जुम्लाले २–१ को जित सुनिश्चित गर्‍यो। खेलका दौरान चौकुनेका सुरजन गुरुङले १७औँ, पोषण उपाध्यायले ३१औँ र गोलकर्ता खगेन्द्र भट्टले ३८औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए भने जुम्लाका कुनै पनि खेलाडीले कार्ड पाएनन्। खेलमा निर्णायक दोहोरो गोल गर्दै टोलीलाई जित दिलाउनुभएका जुम्लाका कप्तान योधा शाही खेलको सर्वोत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो।

तपाईको प्रतिक्रिया