
वीरेन्द्रनगर, सुर्खेत | कर्णाली प्रदेश रङ्गशालामा जारी “प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत आज (जेठ १८ गते) बिहान भएको पहिलो खेलमा घरेलु टोली वीरेन्द्रनगर नगरपालिकाले ऐतिहासिक र फराकिलो जित दर्ता गरेको छ। वीरेन्द्रनगरले एकपक्षीय खेल प्रदर्शन गर्दै बराहताल गाउँपालिकालाई ६–० को ठूलो गोल अन्तरले पराजित गरेको हो। वीरेन्द्रनगरको यस सानदार जितमा दुई जना खेलाडीहरूले उत्कृष्ट ह्याट्रिक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका छन्।
खेलको पहिलो हाफमा २-० को अग्रता बनाएको वीरेन्द्रनगरले दोस्रो हाफमा थप ४ गोल गर्दै बराहतालमाथि पूर्ण दबाब सिर्जना गर्यो। वीरेन्द्रनगरका लागि मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी भुपेन्द्र राउत र स्टार खेलाडी भरत नागले व्यक्तिगत ३-३ गोल (ह्याट्रिक) गर्दै टिमलाई जित दिलाउनुभयो।

खेलको ३५औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका वीरेन्द्रनगरका भुपेन्द्र राउत (जर्सी नं. ७) खेलको नायक बन्नुभयो। मैदान छिरेको ३ मिनेटमै अर्थात् खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै उहाँले टोलीलाई अग्रता दिलाउनुभयो। त्यसपछि पहिलो हाफको अतिरिक्त समय (४०+२ मिनेट) मा व्यक्तिगत दोस्रो गोल गर्दै उहाँले टोलीलाई २-० को अग्रता दिलाउनुभयो। दोस्रो हाफको ६७औँ मिनेटमा पुनः अर्को उत्कृष्ट गोल गर्दै भुपेन्द्रले प्रतियोगिताकै सानदार ह्याट्रिक पूरा गर्नुभयो।

भुपेन्द्रको ह्याट्रिक लगत्तै वीरेन्द्रनगरका अर्का प्रभावशाली खेलाडी भरत नाग (जर्सी नं. १०) चम्किनुभयो। उहाँले खेलको ६८औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता ४-० पुर्याउनुभयो। त्यसपछि खेलको ७५औँ र ७६औँ मिनेटमा लगातार दुई गोल थप्दै भरत नागले पनि आफ्नो व्यक्तिगत ह्याट्रिक पूरा गर्नुभयो। दुई-दुई वटा ह्याट्रिकको सहयोगमा वीरेन्द्रनगरले ६-० को सहज र सानदार जित सुनिश्चित गर्यो। बराहताल गाउँपालिकाले खेलमा फर्किने कडा सङ्घर्ष गरे पनि वीरेन्द्रनगरको मजबुत रक्षापंक्तिलाई तोड्न सकेन।
मैदानमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरी छोटो समयमै सनसनीपूर्ण ह्याट्रिक प्रहार गरेर खेलको दिशा बदल्न सफल हुनुभएका वीरेन्द्रनगर नगरपालिकाका भुपेन्द्र राउत (जर्सी नं. ७) आजको खेलको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दि म्याच) घोषित हुनुभयो। यस सानदार जितसँगै वीरेन्द्रनगर नगरपालिका प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ।

नेपाल कर्म । १८ जेष्ठ २०८३, सोमबार १२:४४