मेयर कप: सिम्ता गाउँपालिकाको सानदार सुरुवात, हुम्ला खार्पुनाथ ४–१ गोल अन्तरले पराजित



वीरेन्द्रनगर, सुर्खेत | कर्णाली प्रदेश रङ्गशालामा जारी “प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत आज (जेठ १७ गते) बेलुकी भएको दोस्रो खेलमा सिम्ता गाउँपालिकाले सानदार जित दर्ता गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै सिम्ताले हुम्ला खार्पुनाथ गाउँपालिकालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। खेलको पहिलो हाफमा सिम्ताले ३-० को एकपक्षीय अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुवै टोलीले १–१ गोल थपे।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सिम्ता गाउँपालिकाले हुम्ला खार्पुनाथमाथि निरन्तर दबाब सिर्जना गर्‍यो। खेलको १७औँ मिनेटमा सिम्ताका स्टार खेलाडी तुषार आगरी (जर्सी नं. १९) ले पहिलो गोल गर्दै टोलीलाई १-० को सुरुवाती अग्रता दिलाए। त्यसको लगत्तै खेलको २६औँ मिनेटमा सिम्ताकै अरुण के.सी. (जर्सी नं. १०) ले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ३५औँ मिनेटमा पुनः तुषार आगरीले व्यक्तिगत दोस्रो गोल थपेपछि पहिलो हाफमै सिम्ता ३-० को अत्यन्तै बलियो स्थितिमा पुग्यो।

दोस्रो हाफ सुरु भएपछि हुम्ला खार्पुनाथ खेलमा फर्किन कडा मिहिनेतका साथ मैदानमा प्रस्तुत भयो। यसै सङ्घर्षका बीच खेलको ४९औँ मिनेटमा हुम्लाका नरेन्द्र बहादुर रावल (जर्सी नं. ९) ले एक उत्कृष्ट गोल फर्काउँदै खेललाई ३–१ को स्थितिमा ल्याए। तर, हुम्लाको पुनरागमन प्रयासलाई असफल पार्दै खेलको ६१औँ मिनेटमा सिम्ताका यमराज परियार (जर्सी नं. ३०) ले अर्को उत्कृष्ट गोल थपेपछि सिम्ताले ४-१ को सहज र सुनिश्चित जित दर्ता गर्दै प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गर्‍यो।

आजको खेलमा सुरुवाती समयमै दुई उत्कृष्ट गोल गर्दै सिम्ताको जितको बलियो आधार तयार पार्नुभएका सिम्ता गाउँपालिकाका स्टार खेलाडी तुषार आगरी (जर्सी नं. १९) खेलको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दि म्याच) घोषित हुनुभयो। यस सानदार जितसँगै सिम्ता गाउँपालिका अर्को चरणमा प्रवेश गरेको छ भने खेल अवधिभर देखाएको कडा प्रतिस्पर्धाका लागि हुम्ला खार्पुनाथ टोलीको पनि दर्शकहरूले प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया