मेयर कप फुटबल: पञ्चपुरी नगरपालिका ४–१ गोल अन्तरले विजयी



वीरेन्द्रनगर, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा जारी “प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत शनिवार साँझ सम्पन्न खेलमा पञ्चपुरी नगरपालिकाले रुकुम पश्चिममाथि ४–१ को सानदार जित दर्ता गरेको छ। खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको पञ्चपुरीले पहिलो हाफमै स्पष्ट अग्रता बनाउन सफल भएको थियो। पञ्चपुरीका लागि खेलको २६औँ र ३१औँ मिनेटमा कप्तान धनसिंह बि.क.ले लगातार दुई गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाउनुभयो।

दोस्रो हाफको सुरुवातमा रुकुम पश्चिमले खेलमा फर्किने संकेत देखायो। दोस्रो हाफ सुरु भएको केही मिनेटमै रुकुम पश्चिमले उत्कृष्ट गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर रोमाञ्चकता थप्यो। तर, रुकुमको यो खुसी धेरै समय टिक्न सकेन। खेलको ५९औँ मिनेटमा पञ्चपुरीका कप्तान धनसिंह बि.क.ले व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो उत्कृष्ट ह्याट्रिक पूरा गरेर टिमलाई ३–१ को बलियो स्थितिमा पुर्‍याउनुभयो।

खेलको ७४औँ मिनेटमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका पञ्चपुरीका अन्जन थापा मगरले थप एक गोल गर्दै टोलीको ४–१ को सहज जित सुनिश्चित गर्नुभयो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक ह्याट्रिक पूरा गर्नुभएका पञ्चपुरीका कप्तान धनसिंह बि.क. खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो।

तपाईको प्रतिक्रिया