वीरेन्द्रनगर, सुर्खेत | कर्णाली प्रदेश रङ्गशालामा जारी “प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत आज (जेठ १६ गते) बिहान भएको दोस्रो खेलमा चौकुने गाउँपालिकाले सानदार जित दर्ता गरेको छ। गोलको वर्षा भएको निकै रोमान्चक र आक्रामक प्रतिस्पर्धामा चौकुनेले गुर्भाकोट नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गरेको हो।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाउँदा खेलको पहिलो हाफमै ५ गोल भएका थिए।
चौकुनेको सुरुवाती दबाब: खेलको १२औँ मिनेटमा चौकुनेका अपिल ओली (जर्सी नं. १३) ले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसको लगत्तै २३औँ मिनेटमा सुदिप साउद (जर्सी नं. ११) ले गोल गरेपछि चौकुने २-० ले अघि बढ्यो।

गुर्भाकोटको उत्कृष्ट पुनरागमन प्रयास: दुई गोलले पछि परेको स्थितिमा गुर्भाकोटले उत्कृष्ट कमब्याक गर्यो। २४औँ मिनेटमा गुर्भाकोटका विशाल घर्ती मगर (जर्सी नं. १०) र ३१औँ मिनेटमा दानियल रसाइली (जर्सी नं. ७) ले लगातार गोल गर्दै खेललाई २-२ को रोमाञ्चक बराबरीमा ल्याए।
पहिलो हाफमै पुनः अग्रता: खेल बराबरीमा आएको केही मिनेटमै चौकुनेका सुदिप साउद (जर्सी नं. ११) ले ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा चौकुनेलाई ३-२ को अग्रता दिलाए।

दोस्रो हाफमा चौकुनेको दादागिरी: दोस्रो हाफमा चौकुनेका खगेन्द्र भट्ट (जर्सी नं. ९) चम्किए। उनले खेलको ६१औँ र ६४औँ मिनेटमा लगातार दुई गोल गर्दै चौकुनेको जित ५-२ को बलियो स्थितिमा पुर्याए।
अन्तिम समयमा सान्त्वना गोल: खेलको निर्धारित समय सकिएर थप गरिएको अतिरिक्त समयको पहिलो मिनेट (९०+१ मिनेट) मा गुर्भाकोटका खगेन्द्र बी.क. (जर्सी नं. १३) ले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् र खेल चौकुनेले ५-३ ले आफ्नो पक्षमा पार्यो।
मैदानको मध्यभाग सम्हाल्दै टिमका लागि उत्कृष्ट अवसरहरू सिर्जना गर्न र जितको आधार तय गर्न महत्त्वपूर्ण भूमिका खेलेका चौकुने गाउँपालिकाका गणेश पुलामी मगर (जर्सी नं. १७) खेलको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दि म्याच) घोषित भए।
आज बिहानको यो खेल सम्पन्न भएसँगै अब आजै साँझ ठीक ४:३० बजे पञ्चपुरी नगरपालिका र रुकम पश्चिमबीच अर्को रोमान्चक भिडन्त हुने आयोजकले जनाएको छ।

नेपाल कर्म । १६ जेष्ठ २०८३, शनिबार १०:४१