प्रथम मेयर कप फुटबल: उद्घाटन खेलमा वीरेन्द्रनगरको विजयी सुरुवात, हुम्ला सिमकोट पराजित



वीरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशकै बहुप्रतीक्षित खेल महोत्सव “कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” को उद्घाटन खेलमा वीरेन्द्रनगर नगरपालिकाले विजयी सुरुवात गरेको छ। वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा मंगलबार सम्पन्न रोमान्चक उद्घाटन खेलमा आयोजक वीरेन्द्रनगर नगरपालिकाले हुम्ला सिमकोट गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

हजारौँ खेलप्रेमी दर्शकहरूको उत्साहजनक उपस्थितिका बीच सुरु भएको खेलको पहिलो मिनेटमै वीरेन्द्रनगरले अग्रता लिएको थियो।

खेलको रोमान्चक उतारचढाव:

पहिलो मिनेटमै गोल: खेल सुरु भएको पहिलो मिनेटमै वीरेन्द्रनगरका स्ट्राइकर भरत नाग (जर्सी नं. १०) ले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनको यो छिटो गोलले रङ्गशालामा उपस्थित घरेलु दर्शकहरूमा उत्साह थपेको थियो।

दोस्रो हाफमा थप गोल: पहिलो हाफ १-० मा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले खेलाडी परिवर्तन गर्दै रणनीति बदले। खेलको ६७औँ मिनेटमा बैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका वीरेन्द्रनगरका निर्मल चौधरी (जर्सी नं. ३) ले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

हुम्लाको उत्कृष्ट पुनरागमन प्रयास: दुई गोलले पछि परेको अवस्थामा पनि हुम्ला सिमकोटले सशक्त खेल प्रदर्शन गर्‍यो। खेलको ८२औँ मिनेटमा हुम्लाका अनिश परियार (जर्सी नं. २) ले उत्कृष्ट गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याई खेलमा रोमाञ्चकता थपे।

अतिरिक्त समयमा जित सुनिश्चित: खेलको अन्तिम समयतिर हुम्लाले बराबरीका लागि दबाब बढाइरहेका बेला दोस्रो हाफको थप गरिएको समय (इन्जुरी टाइम) को दोस्रो मिनेट (९०+२ मिनेट) मा वीरेन्द्रनगरका अर्का बैकल्पिक खेलाडी सुरज थापा (जर्सी नं. ९) ले उत्कृष्ट गोल गर्दै वीरेन्द्रनगरको ३-१ को सानदार जित निश्चित गरे।

पहेँलो कार्ड (Caution): खेलको ८६औँ मिनेटमा गोलकर्ता भरत नाग (वीरेन्द्रनगर) ले पहेँलो कार्ड पाएका थिए।

म्यान अफ दि म्याच (Player of the Match): मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै टिमको डिफेन्स र मिडफिल्डलाई मजबुत राख्न महत्वपूर्ण भूमिका खेलेका वीरेन्द्रनगरका पुरन श्रेष्ठ (जर्सी नं. ८) खेलको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दि म्याच) घोषित भए।

ऐतिहासिक कर्णाली प्रदेश रङ्गशालामा खेल हेर्नका लागि दर्शकहरूको निकै ठूलो भिड लागेको थियो। सुर्खेत बाहिर रहनुभएका खेलप्रेमीहरूका लागि GoalNepal, Karnali Media, र Namaste Nepal .com मार्फत खेलको प्रत्यक्ष प्रसारण गरिएको थियो।

जितसँगै वीरेन्द्रनगर प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने पराजित भए पनि हुम्ला सिमकोट गाउँपालिकाले मैदानमा देखाएको खेल भावना र उत्कृष्ट लडाइँको दर्शकहरूले निकै प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया