१६ र १७ गते कर्णाली छोरी सम्मेलन दोस्रो संस्करण हुँदै



वीरेन्द्रनगर | कर्णाली प्रदेशका बालिका र किशोरीहरूका मुद्दामा केन्द्रित ‘कर्णाली छोरी सम्मेलन–२०८३’ को दोस्रो संस्करण यही जेठ १६ र १७ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। बालिका, किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बालविवाह, छाउपडी, घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता सामाजिक कुरीतिविरुद्ध क्रियाशील संस्था श्री ज्योति फाउन्डेसनले जेठ १५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सम्मेलनबारे जानकारी दिएको हो।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको प्रतिनिधित्व रहनेछ। यसका साथै लोपोन्मुख, सीमान्तकृत, राउटे, राजी, कुसुन्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित २५० भन्दा बढीको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनको मुख्य उद्देश्य लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, मर्यादित महिनावारी र छाउपडीजस्ता गम्भीर विषयमा व्यापक छलफल गरी संकलन गरिएका निष्कर्ष र सुझावहरूलाई कार्यान्वयनका लागि तीनटै तहका सरकारसमक्ष प्रस्तुत गर्नु रहेको छ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा कर्णालीका ८५ जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथाहरू प्रस्तुत गर्नेछन् भने विभिन्न क्षेत्रका विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने र विविध विषयमा प्यानल छलफलहरू सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ। यसअघि फाउन्डेसनले २०८२ साल बैशाखमा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ, जसको माध्यमबाट प्रदेश र स्थानीय तहमा गठित ‘छोरी सञ्जाल’ मा हालसम्म ६६९ जना छोरीहरू आवद्ध भइसकेका छन्।

सामाजिक क्षेत्रमा क्रियाशील श्री ज्योति फाउन्डेसनले जाजरकोट भूकम्प प्रभावित र विपन्न परिवारका छोरीहरूको शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। संस्थाले प्रत्येक वर्ष १५ जना भूकम्पपीडित र १५ जना विपन्न छोरीहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको समेत जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया