
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा आगामी जेठ २२ गतेदेखि पहिलोपटक राष्ट्रियस्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोलीको छनोट खेलका रूपमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
आगामी जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने यस यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा देशका सात वटै प्रदेशका टोलीहरूले सहभागिता जनाउने कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिए । ‘कर्णालीको टोली बन्द प्रशिक्षणमा प्रतियोगिता नजिकिएसँगै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ कर्णाली प्रदेशको छनोट भइसकेको छ,’ उनले भने,‘टोली सुर्खेतमा बन्द प्रशिक्षणमा व्यस्त रहेको छ ।’
खेलाडीहरूलाई प्राविधिक तथा शारीरिक रूपमा सबल बनाउन विशेष प्रशिक्षण दिइराखिएको संघले जनाएको छ ।

कर्णालीमा दोस्रो राष्ट्रिय खेल, महिला क्रिकेटको भने पहिलो इतिहास भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा क्रमशः अघि बढिरहेको कर्णाली प्रदेशका लागि यो प्रतियोगिता ऐतिहासिक कोसेढुङ्गा सावित हुने संघले जनाएको छ ।

कर्णालीमा गत वर्ष पहिलोपटक पुरुषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो । ‘
कर्णालीको इतिहासमा यो दोस्रो राष्ट्रिय प्रतियोगिता हो, तर महिला क्रिकेटको इतिहासमा भने यो नै पहिलो राष्ट्रिय खेल हुने संघका सचिव श्रीधर केसीले बताए ।
आगामी महिला विश्वकप खेल्ने नेपाली टोलीको जग बसाल्ने यस महत्वपूर्ण छनोट प्रतियोगिताको सम्पूर्ण व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

नेपाल कर्म । १५ जेष्ठ २०८३, शुक्रबार १४:३४