सुर्खेत । कर्णाली प्रदेश फुटबल संघको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा कर्णाली प्रदेशस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता, २०८३ आयोजना हुने भएको छ । प्रतियोगिता भोली जेठ १५ गतेदेखि २१ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले प्रदेशमा खेलकुद विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले पहिलो पटक प्रदेशस्तरीय मेयर कप आयोजना गर्न लागिएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन भोली १५ गते दिउँसो २ बजे हुने तय गरिएको छ ।

हमालका अनुसार प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न १३ पालिकाको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, सल्यानको वनगाड कुपिण्डे नगरपालिका, कालिकोट जिल्ला, रुकुम पश्चिम जिल्ला, चन्दननाथ नगरपालिका जुम्ला, भेरी नगरपालिका जाजरकोट, खार्पुनाथ गाउँपालिका हुम्ला, सिमकोट गाउँपालिका हुम्ला तथा सिम्ता गाउँपालिका सुर्खेत रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद रु ४ लाख तथा उपविजेता टोलीलाई रु २ लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सात विधामा जनही रु १५ हजारसहित “बेस्ट अवार्ड” प्रदान गरिनेछ । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई “म्यान अफ द म्याच” पुरस्कारस्वरूप रु २ हजार प्रदान गरिनेछ ।
यसैगरी प्रतियोगिताभर उत्कृष्ट अनुशासन देखाउने टोलीलाई पहिलो पटक रु १० हजारसहित विशेष पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता लगातार सात दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि वीरेन्द्रनगर नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको छ भने सहयोगी संस्था म्याक्स टाइगर इनर्जी ड्रिङ्कबाट रु १ लाख आर्थिक सहयोग प्राप्त भएको हमालले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीबाट रु १० हजारका दरले टिम दर्ता शुल्क लिएको कर्णाली प्रदेश फुटबल संघका महासचिव मदन बुढथापाले जानकारी दिए । बुढथापाले पहिलो संस्करणको प्रतियोगितालाई भव्य र सफल बनाउन सबै सरोकारवाला निकाय, खेलप्रेमी तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको बताए । उनले प्रतियोगिताले कर्णालीका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्नुका साथै प्रदेशको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल कर्म । १४ जेष्ठ २०८३, बिहीबार १९:५९