काेहलपुर-सुर्खेत १३२ केभी : टावरको जग बन्यो, बत्ती नियमित हुन अझै दुई साता लाग्ने

सुर्खेत । हावाहुरीका कारण राष्ट्रिय प्रसारण लाइनको टावर ढलेपछि अवरुद्ध बनेको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत सेवा पूर्ण रूपमा सुचारु हुन अझै कम्तिमा दुई साता लाग्ने भएको छ।



गत वैशाख २६ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको चिसापानी चेकपोष्टदेखि पूर्वी क्षेत्रमा ठूलाे सालकाे रुख ढलेर तारमा बज्रिँदा प्रसारण लाइनको टावर ढलेको हाे ।

अहिले क्षतिग्रस्त क्षेत्रमा टावर पुनर्निर्माणको पहिलो चरण अन्तर्गत फाउण्डेशन (जग) ढलानको काम सोमबार सकिएकाे छ। अबको दुई साताभित्र टावर निर्माण र तार तान्ने काम सकेर विद्युत सेवा नियमित गर्ने तयारी भइरहेको छ।

१३२ केभी विद्युत आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार प्रसारण लाइनको क्षेत्राधिकार भन्दा बाहिर रहेको सालको रुख ढलेका कारण क्षती पुगेकाे हो।

प्रमुख चौधरीले भने, ‘हावाहुरीका कारण प्रसारण लाइनको मध्यविन्दुभन्दा बाहिर रहेको करिब ३८ मिटर लामो र तीन मिटर मोटाइको सालको रुख ढलेर तारमा लाग्दा पोलमा क्षति पुगेको हो। अवरुद्ध विद्युत छिटो सुचारु गर्न हामीले फाउण्डेशन निर्माणको काम सोमबार सकेका छौँ। अब टावर खडा गर्ने र तार तान्न कम्तिमा दुई साता लाग्छ। त्यसपछि विद्युत नियमित हुन्छ।’

प्रसारण लाइनको मध्यविन्दुबाट दायाँबायाँ ९/९ मिटर क्षेत्रका रुखहरू यसअघि नै हटाइए पनि निकुञ्जभित्र रहेका अन्य जोखिमयुक्त रुखहरू हटाउन अनुमति नपाउँदा आगामी दिनमा पनि यस्तै जोखिम रहने चौधरीले बताए। चिसापानी क्षेत्रमा यस्ता धेरै जोखिमपूर्ण ८० बढी रुखहरू रहेको र यसबारे माथिल्लो निकायलाई पहिले नै जानकारी गराइसकिएको उनको भनाइ छ।

मुख्य १३२ केभी प्रसारण लाइन बन्द भएपछि अहिले सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूमा कोहलपुर–सुर्खेत र लम्की–बाबियाचौर–सुर्खेतको पुरानो ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको छ।

तर, अत्यधिक गर्मीको समयमा ३३ केभी सिस्टममा मागभन्दा निकै कम भोल्टेज आउँदा उपभोक्ताहरूले चर्को सास्ती खेपिरहेका छन्। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख किरण खनालका अनुसार विद्युतमा भार बढी र भोल्टेज अत्यन्त न्यून हुँदा ट्रान्सफर्मर, वितरण लाइनको तारलगायतका संरचनामा प्राविधिक समस्या देखिने गरेको छ। जसका कारण छिनछिनमा बत्ती जाने र आउने भइरहेको छ।

हावाहुरीका कारण रुख ढलेर टावरमा क्षति पुगेपछि नेपाल विद्युत प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको थियो। समितिले घटनास्थलको निरीक्षण र आवश्यक अध्ययन सकेर फर्किसकेको भए पनि प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया