तीन दिने कर्णाली पर्यटन महोत्सव शुरु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि प्रथम कर्णाली पर्यटन महोत्सव शुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा छिमेकी देश भारत, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पर्यटन सरोकारवालाहरुको सहभागिता रहेको छ ।

कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र दीर्घकालीन सम्भावनाबारे छलफल तथा प्रवद्र्धनात्मक गतिविधि गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता रहेको कर्णाली पर्यटन महोत्सवका संयोजक तर्कबहादुर शाहीले बताए । ‘महोत्सवमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधि सहभागी छन्,’ उनले भने,‘नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो ।’

महोत्सवमार्फत कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन क्षेत्रको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको संयोजक शाहीले बताए ।

पर्यटन महोत्सवले कर्णाली प्रदेशका बिभिन्न पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बताए । उनले देश तथा विदेशबाट पनि पर्यटन व्यवसायी सहभागिता रहेको कर्णाली धार्मिक तथा पर्यटकीय क्षेत्र बिषयमा जानकारी मिल्ने बताए ।

तपाईको प्रतिक्रिया