
वीरेन्द्रनगर, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी जेठ १५ गतेदेखि “प्रथम मेयर कप–२०८३” अन्तर्गत कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यस प्रतियोगिताको आयोजना कर्णाली प्रदेश फुटबल संघले गरेको छ भने सुर्खेत जिल्ला फुटबल संघले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

प्रतियोगिता वि.सं. २०८३ जेठ १५ गते दिउँसो १:०० बजे कर्णाली प्रदेश रंगशाला (अथवा वैकल्पिक खेल मैदान) मा उद्घाटन हुनेछ। प्रतियोगिता जेठ २१ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले नगद रु. ४,००,००० (चार लाख) र उपविजेताले नगद रु. २,००,००० (दुई लाख) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका टिमहरू र विभिन्न गाउँपालिकाका टिमहरूको सहभागिता रहनेछ। सहभागी हुन चाहने टिमले जेठ १२ गतेभित्र जिल्ला फुटबल संघको आधिकारिक पत्र, खेलाडीहरूको नागरिकताको प्रतिलिपि र ३ प्रति फोटोसहित आवश्यक कागजात एन्फाको नियमानुसार बुझाउनुपर्नेछ ।
प्रतियोगिताको तयारीबारे जानकारी दिँदै कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले भन्नुभयो—”कर्णाली प्रदेशमा फुटबलको जग बलियो बनाउन र लुकेका प्रतिभाहरूलाई उजागर गर्न हामीले यो ‘प्रथम मेयर कप’ आयोजना गर्न लागेका हौं। वीरेन्द्रनगर नगरपालिकाको विशेष आर्थिक सहयोग र जिल्ला संघहरूको समन्वयले गर्दा हामी एउटा भव्य र ऐतिहासिक प्रतियोगिताको संघारमा छौं। १० वटै जिल्लाका उत्कृष्ट खेलाडीहरूबीचको यो प्रतिस्पर्धाले कर्णालीको फुटबल स्तरलाई राष्ट्रिय मूलधारमा जोड्न मद्दत पुग्ने हाम्रो विश्वास छ।”

नेपाल कर्म । ४ जेष्ठ २०८३, सोमबार १०:५६