कर्णालीमा पहिलो पर्यटन सम्मेलन हुँदै


सुर्खेत । कर्णालीमा पहिलो पटक ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुन लागेको हो ।
कर्णालीलाई नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित सम्मेलनको आयोजना गरिएको सम्मेलन मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले बताए । ‘सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ,’ उनले भने,‘पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा व्यावसायिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने छ ।’
सम्मेलनमा नेपालका छिमेकी प्रदेश लुम्बिनी र सुदूरपश्चिमका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर, सञ्चारकर्मी, ट्राभल एजेन्सी, टुर अपरेटर, होटल तथा आतिथ्य ब्रान्डका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममार्फत भारतीय बजारसँग कर्णालीका पर्यटन प्याकेज तथा सेवा प्रत्यक्ष रूपमा जोडिने अपेक्षा समेत गरिएको शाहीले जानकारी दिए । ‘प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन तथा अद्वितीय गन्तव्यहरूले समृद्ध कर्णाली प्रदेश अझै पर्याप्त रूपमा विश्वसामु परिचित हुन नसकेको अवस्थामा सम्मेलनले यसको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको छ,’ उनले भने,‘सम्मेलनमा बि टु बि बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भिजिट, फ्याम ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ ।’
पर्यटन क्षेत्रका सरोकारवालाबीच अनुभव आदानप्रदान, व्यावसायिक साझेदारी तथा दीर्घकालीन सहकार्यको वातावरण निर्माण गर्ने संयोजक शाहीले बताए । उनले सम्मेलन केवल औपचारिक भेला वा छलफलमा मात्र सीमित नभई कार्यक्रममा खरिदकर्ता र बिक्रेताबीच प्रत्यक्ष संवाद हुने व्यवस्था मिलाएको छ । साथै कर्णालीका होमस्टेदेखि ठूला होटलसम्म तथा रारादेखि शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सम्मका पर्यटन प्याकेजलाई सीधा बजारसँग जोड्नेछ ।



तपाईको प्रतिक्रिया