
सुर्खेत । जिल्ला प्रहरीले कार्यालय सुर्खेतले विद्युतीय माध्यमबाट अनलाइन जुवा–सट्टेबाजी खेलाउने शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । अनलाइन जुवा–सट्टेबाजी खेलाउने तथा बैंक खाता दुरुपयोग गरी ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत प्रलोभनमा पार्दै हारजित हुने गरी अनलाइन जुवा–सट्टेबाजी सञ्चालन गरिएको गोप्य तथा प्राविधिक सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको र त्यसैको आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अनुसन्धानका क्रममा विभिन्न बैंकमा खाता खोली शंकास्पद कारोबार गरिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता तथा डिएसपी मोहनजंग बुढथापाले बताए । उनका अनुसार पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का ३९ वर्षीय महेन्द्रकुमार बोहरा रहेका छन् । उनी पेशाले शिक्षक हुन् । उनले विभिन्न बैंकमा छ वटा खाता खोली ठगीजन्य कारोबारमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रहरीका अनुसार उनको खाताबाट करिब दुई करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको देखिएको छ । यस्तै, ४२ वर्षीय व्यापारी यामलाल विकले विभिन्न बैंकमा पाँच वटा खाता खोली दुरुपयोग गरेको तथा ४४ वर्षीय होटल व्यवसायी डम्बरबहादुर विकले नौं वटा बैंक खाता प्रयोग गरी शंकास्पद कारोबार गरेको आरोप छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । ३० बैशाख २०८३, बुधबार १७:२४