सुर्खेत । राहदानी (पासपोर्ट) बनाउन र बनेको पासपोर्ट लिन जिल्ला प्रशासन कार्यालयको गेटमा लाइन लाग्नुपर्ने, काम छोडेर सदरमुकाम धाउनुपर्ने र भीडभाडमा सास्ती खेप्नुपर्ने सुर्खेतबासीको बाध्यता अब इतिहास बन्ने भएको छ।
सुर्खेत प्रशासनले नागरिकको घरदैलोमै सरकारको उपस्थिति महसुस गराउने गरी हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवाको औपचारिक सुरुवात गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक निर्देशनालय सुर्खेतबीच भएको यो ऐतिहासिक सम्झौताले सरकारी सेवा प्रवाहमा नयाँ मानक स्थापना गरेको छ।

नेपाल सरकारको शासकीय सुधारको १०० दिने कार्ययोजना अनुसार सुरु गरिएको यो गभर्मेन्ट कुरियर सर्भिसले विशेषगरी ग्रामीण भेगका र व्यस्त नागरिकलाई ठूलो राहत दिनेछ।
अब सेवाग्राहीले राहदानी विभागबाट पासपोर्ट प्रिन्ट भएर आएको हप्तौंसम्म पर्खिनु पर्ने वा बुझ्नकै लागि प्रशासन धाउनु पर्ने छैन।
हुलाकका कर्मचारीले नागरिकको राहदानी घरको ढोकैमा ल्याइदिने हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गाेविन्दप्रसाद पाण्डेले जानकारी दिए
जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक निर्देशनालयबीच भएको ९ बुँदे सहमति अनुसार अब प्रशासनले प्राप्त भएका राहदानीहरू सुरक्षित रूपमा हुलाकलाई जिम्मा लगाउनेछ। हुलाकले ती राहदानी बुझेको ७ दिनभित्र सम्बन्धित व्यक्तिको हातमा पुर्याईने निर्देशक पाण्डेले बताए।
यस प्रक्रियालाई पारदर्शी र सुरक्षित बनाउन सेवाग्राहीले राहदानीको आवेदन दिँदा नै एउटा मञ्जुरी फारम भर्नुपर्नेछ, जसमा आफ्नो घरको लोकेसन स्केच (नक्सा) समेत समावेश गर्नुपर्नेछ।
यो सेवालाई प्रभावकारी बनाउन व्यावहारिक प्रावधान राखिएको छ। सेवाग्राहीले आफ्नो घर पत्ता लगाउन सजिलो होस् भनेर फारममा आफ्नो घर नजिकैको मन्दिर, चौतारो, विद्यालय वा ठूलो रुख जस्ता स्थायी चिनारीहरू उल्लेख गर्नुपर्नेछ।
यसले गर्दा दुर्गम गाउँमा पनि हुलाकका कर्मचारी झुक्किने छैनन् र सही व्यक्तिको हातमा राहदानी पुग्ने सुनिश्चित हुनेछ।
सेवाग्राहीले ३४ पेजको राहदानीका लागि राहदानी बनाउने बेला नै ५५ रुपैयाँ र ६६ पेजको राहदानीका लागि ६५ रुपैयाँको हुलाक टिकट टाँस गर्नुपर्नेछ ।
कसरी पाउने त घरमै राहदानी?
यो सुविधा लिन चाहने सेवाग्राहीले राहदानीको फारम भर्दा नै केही प्रक्रियाहरू पुरा गर्नुपर्नेछ:
मञ्जुरी फारम: सेवाग्राहीले हुलाकमार्फत घरमै राहदानी बुझिलिनका लागि एउटा छुट्टै ‘मञ्जुरी फारम’ भर्नुपर्नेछ।
लोकेशन स्केच: फारममा आफ्नो घर पहिचान गर्न सजिलो होस् भनी नजिकैको मन्दिर, विद्यालय, चौतारो वा मुख्य चिनारीसहितको घरको नक्सा (स्केच) अनिवार्य खुलाउनुपर्नेछ।
हुलाक दस्तुर: ३४ पेजको राहदानीका लागि ५५ रुपैयाँ र ६६ पेजको राहदानीका लागि ६५ रुपैयाँको हुलाक टिकट खाममा टाँसेर निवेदन दिनुपर्नेछ।
वैकल्पिक व्यक्ति: यदि सेवाग्राही स्वयम् उपस्थित हुन नसक्ने अवस्था भएमा आफ्नो अनुपस्थितिमा राहदानी बुझिलिने व्यक्तिको नाम र सम्पर्क नम्बर समेत उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ।
राहदानी जस्तो संवेदनशील दस्ताबेजको सुरक्षामा कुनै सम्झौता नगरिने गरी सम्झौता गरिएको छ। यदि कुनै कारणवश सम्बन्धित व्यक्ति घरमा भेटिएनन् भने उनको अनुपस्थितिमा कसलाई राहदानी दिने भन्ने कुरा पनि पहिल्यै खुलाउन सकिनेछ।
राहदानी हराउने वा दुरुपयोग हुने जोखिमलाई शून्यमा झार्न सेक्युर डेलिभरीको अवधारणा अपनाइएको पाण्डे बताउछन्।
सिंहदरबारको अधिकार गाउँ-गाउँमा भन्ने नारालाई यो कार्यले सार्थक तुल्याएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताए।
राहदानी लिनकै लागि खर्च हुने समय, गाडी भाडा र होटल खर्चको बचत हुनु मात्र होइन, राज्यले नागरिकको समय र आत्मसम्मानको कदर गरेको महसुस यसले गराएको उनी बताउँछन् ।
प्रशासनमा आएका वीरेन्द्रनगर उपत्यकाका ११२ थान राहदानी सम्बन्धित व्यक्तिको घरमा पुर्याउने तयारी थालिएको छ ।
“यसअघि बनेर आएका राहदानी हुलाककै सहयाेगमा सम्बन्धित व्यक्तिको घरसम्म पुर्याउन लागेका छाैं,” उपाध्यायले भने, “वीरेन्द्रनगर वडा नम्बर १ देखि १२ सम्मका नागरिकका यसअघि बनिसकेका तर लिन नआएका राहदानी हुलाकबाटै घरघरमा पुर्याईनेछ ।”
कर्णालीका जुम्ला, कालिकोट र सल्यानले यसअघि नै याे सेवा शुरू गरिसकेका छन् ।


नेपाल कर्म । २४ बैशाख २०८३, बिहीबार १३:३९