विपत्तिमा जुनीचाँदे : सडक ठप्प, खेती सखाप

जाजरकोट । सदरमुकाम खलंगाबाट पश्चिममा पर्ने जुनीचाँदे गाउँपालिका सङ्घर्षको नाम हो । अग्ला पहाड, गहिरा खोँच र सिमानामा जुम्ला कालिकोटसँग जोडिएको लेकाली हावापानी।



तर, यसपालिको बैशाख जुनीचाँदेका लागि सुखद् बन्न सकेन् । बैशाख १३ र २३ गतेकाे असिना पानीले हजारौँ किसानको वर्षभरिको पसिना सखाप बनाइदिएकाे छ ।लेकाली भेगमा काट्न ठिक्क रहेकाे गहुँ र जौ खेती असिना पानीले खसाप पारेकाे छ।

जुनीचाँदेको अवस्था बुझ्न गरिबीको लघु क्षेत्र अनुमान २०८२को प्रतिवेदन हेरे पुग्छ । उक्त प्रतिवेदन अनुसार, यहाँका १०० जनामध्ये करिब ७८ जना नागरिक गरिबीको रेखा मुनि रहेका छन्।

गाउँपालिकामा गरिबीको दर ७७.८९ प्रतिशत छ। कुल २३ हजार जनसङ्ख्या रहेको यस पालिकामा १८ हजार मानिसहरू चरम अभावमा बाँचिरहेका छन्। यस्तो संवेदनशील भूगोलमा प्रकृतिले थप क्षती पुर्याएकाे छ ।

रोग, भोक र भौगोलिक विकटताबाट ग्रसित जुनीचाँदेको मुख्य पेशा परम्परागत कृषि प्रणाली हो। तर, पछिल्लो समय किसानहरू व्यावसायिकतातर्फ मोडिन खोज्दै थिए।

गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार, बैशाख १३ र २३ गतेको असिना पानीले मुख्य नगदे बालीका रूपमा रहेका स्याउ, सुन्तला, किभी, ओखर, टिमुर र केरा खेतीमा अपूरणीय क्षति पुर्‍याएको छ। यो क्षतिले गर्दा पालिकामा थप खाद्यान्न संकटको संकेत देखाएको छ।

अध्यक्ष शाही भन्छन्, ‘जुम्ला र कालिकोटसँग सीमा जोडिएका नागरिकहरूले लगाएको कुनै पनि बाली जोगाउन सकिएन। सात सय हेक्टरमा लगाएको खेती असिना पानी र बाढीले नष्ट गरिदिएको छ।’

उनका अनुसार खाद्यान्नतर्फ झण्डै ३०० मेट्रिक्टन बालीमा क्षति पुगेको छ। गाउँपालिकाको वडा नम्बर १, ३ र ४ को तल्लो वस्तीका किसानले जेनतेन खाद्यान्न भित्राएपनि लेकाली क्षेत्रमा काट्न तयार रहेको गहुँ र जौ बाली पूरै सखाप भएको छ।

वडा नम्बर ५ का हस्त नेपाली २१ वटा बाख्रा चट्यांग लागेर मरेका छन् भने कतिपय कृषकले स्याउ बगैँचा बाढीको बगाइदिएकाे छ । बुधबार मात्रै जुनिचादे गाउँपालिका-२ मझकाेटका धनसिंह दमाइ र बले दमाइकाे अस्थायी टहरा बाढीले बगाएकाे छ ।

भुकम्पपछि अस्थायी टहरामा बसेका उनीहरूकाे परिवार बाढीले बगाउदा फेरि विस्थापित बन्नु परेकाे छ । घरमा राखिएका खाद्यन्न लगायत अन्न बालीसमेत बगाउँदा याे परिवार पीडामा छ ।

जुनिचाँदे गाउँपालिकाले विशेष राहतको पहल गरियोस् बाढीले खाद्यन्नमा मात्रै नभएर गाउँपालिकाको भौतिक मेरुदण्ड मानिने सडक सञ्जाललाई समेत छियाछिया पारेको छ।

गाउँपालिका भित्रका पूरै सडकहरू अहिले बाढीले बगाएको अवस्थामा छन्। सडक मर्मत गरेर तत्काल यातायात सुचारु गर्न मात्रै एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान अध्यक्ष शाहीले गरेका छन्।

सडक नहुँदा खाद्यान्न संकट बेहोरिरहेका नागरिकलाई राहत पुर्‍याउन समेत ठूलो चुनौती देखिएकाे छ । विगतमा पनि जुनीचाँदे पटक-पटक संकटको चपेटामा परिरहने क्षेत्र हो। भौगोलिक विकटता रहेकाे गाउँपालिकामा अहिले प्रकृतिले मानवीय संकट निम्त्याउने जोखिम बढाएको छ।

गाउँपालिकाले क्षतिको एकिन विवरण सङ्कलन गर्न कर्मचारीहरू खटाएको त छ । तर स्थानीय सरकारको सीमित स्रोतले यो क्षतिलाई सम्बोधन गर्न सम्भव देखिँदैन।

तपाईको प्रतिक्रिया