थालीमै आइपुग्यो मन्द विष, सुर्खेतको बजारमा भेटिरहन्छ खानै नमिल्ने तरकारी

सुर्खेत । वीरेन्द्रनगरस्थित हटिया पुग्दा काउलीका सेता थुम्का र राताम्मे टमाटरले जो कोहीको मन लोभ्याउँछ। झट्ट हेर्दा ताजा र स्वस्थ देखिने यी तरकारी देख्दा लाग्छ, कर्णालीको भान्सा अब पोषणयुक्त हुँदैछ। तर, प्रयोगशालाको रिपोर्टले भने, यी सबै तरकारी होइनन्, मन्द विषका पोका हुन्।



अहिले वीरेन्द्रनगरका उपभोक्ताले पोषण होइन, रसायन खाइरहेका छन् । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, सुर्खेतको पछिल्लो तथ्याङ्कले कर्णालीको राजधानीमा भित्रिने तरकारीको भयावह चित्र बाहिर ल्याएको छ।

प्रयोगशालामा गरिएका परीक्षणबाट तरकारीमा अत्यधिक विषाादी भएकाे पुष्टी गरेकाे छ । दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत भित्रिएको काउलीमा ९५ प्रतिशत अर्गानोफस्फेट विषादी भेटियो। कृषि विज्ञहरूका अनुसार यो मात्रा खानु त परको कुरा, खाली हातले छुँदा समेत शरीरमा असर गर्न सक्ने स्तरको हो ।

‘काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको सिधै विष सेवन गर्नु सरह हो,’ प्रयोगशालाका नायव प्राविधिक सहायक धन सिंह धामी भन्छन्, ‘यस्तो तरकारी कुनै पनि हालतमा भान्सामा पस्नु हुँदैन् ।’

त्यस्तै, बर्दियाबाट ल्याइएको टमाटरमा ५४ प्रतिशत र सुर्खेत जिल्लाबाटै कृषि बजारमा भित्रिएकाे काउलीमा ४६ प्रतिशत विषादी फेला परेको छ।  ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारीलाई खानै नमिल्ने सूचीमा राखेर नष्ट गर्नुपर्छ।

धेरै फलाउने र आकर्षक देखाउने होडमा किसानहरूले वेटिङ पिरियड (विषादी हालेपछि काट्नका लागि कुर्नुपर्ने समय) समेत ख्याल नगरी तरकारी बजार पठाउने गरेका छन्। विषादी छरेको केही दिनमै बजार पुग्ने यस्ता तरकारीले मानव स्वास्थ्यमा स्लो पोइजन (मन्द विष) को काम गरिरहेको छ।

विशेष गरी अर्गानोफस्फेट विषादीले मानिसको स्नायु प्रणाली, प्रजनन क्षमता र मृगौलामा गम्भीर असर पुर्‍याउँछ। दीर्घकालीन रूपमा यसले क्यान्सर जस्तो असाध्य रोग निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन्।

वीरेन्द्रनगर नगरपालिकाले विषादी पुष्टि भएका तरकारी बरामद गरी नष्ट गर्दै आएको छ । तर दैनिक तरकारी भित्रिने बजारमा थोरै नमुनाको मात्र परीक्षण हुने गरेको छ। जसका कारण ठूलो परिमाणमा विषादीयुक्त तरकारी उपभोक्ताको थालीसम्म सहजै पुगिरहेको छ।

‘एक हप्तामा ५० भन्दा बढी नमुना परीक्षण गर्दा अधिकांशमा मात्रा नाघेको पाइयो,’ धामीले भने । नगरपालिकाले नष्ट गर्ने प्रक्रिया त चालेको छ, तर उत्पादन केन्द्रमै पुगेर किसानलाई सचेत नगराएसम्म उपभोक्ताको स्वास्थ्यमाथिको यो खेलबाड रोकिने छाँटकाँट देखिएकाे छैन ।

कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्ने नारा सरकारी दस्तावेजमा छ । तर व्यवहारमा भने बजारमा विषादीको तरकारी धमाधम भित्रिरहेकाे छ। जबसम्म उत्पादक किसान जिम्मेवार बन्दैनन् र नियामक निकायले उत्पादन स्थलमै कडाइ गर्दैनन्, तबसम्म कर्णालीको राजधानीमा भित्रिने हरियो विषले नागरिकको स्वास्थ्य थप गम्भीर असर गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया