सुर्खेत । कर्णाली प्रदेशका युवाहरूको साझा मञ्चको रूपमा स्थापित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण शुरू गर्न लागिएको छ।
यहीँ वैशाख १९ र २० गते वीरेन्द्रनगरकाे सिटी हलमा महाेत्सव आयाेजना गर्न लागिएको हाे ।
महोत्सवमा मनोरञ्जन मात्र सीमित नभई युवाहरूको बौद्धिक, सामाजिक र सांस्कृतिक विकासमा केन्द्रित रहनेछ संयाेजक विनाेदकुमार शाहीले जानकारी दिए।

उनकाअनुसार प्रदेशका सबै जिल्ला र स्थानीय तहका युवाहरूको सहभागितामा विकास, शिक्षा, स्वास्थ्य, र स्वरोजगारका मुद्दाहरूमा गहन छलफल हुनेछ।

कर्णालीको रैथाने कला-संस्कृति, देउडा खेल र सांगीतिक प्रस्तुतिहरूका माध्यमबाट युवाहरूलाई आफ्नो पहिचानसँग जोडिने अवसर मिल्ने बताए ।

‘कर्णालीलाई विश्वमा चिनाउन उदाहरणीय कार्य गर्ने उत्कृष्ट १० जना युवाहरूलाई कर्णाली युथ आइकन अवार्ड प्रदान गरिनेछ,’ शाहीले भने, ‘ओम रिजालद्वारा लिखित पुस्तक पैकेलो माथि अन्तर्क्रिया र अन्य समसामयिक विषयमा विज्ञहरूसँग युथ संवाद सञ्चालन गरिनेछ ।’
आयोजक समितिका संयोजक शाहीका अनुसार यो महोत्सव कर्णालीका युवाहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने एउटा साझा डबली हो।
युवाहरूमा भएको सृजनशीलता, नेतृत्व क्षमता र ऊर्जालाई उजागर गर्दै उनीहरूलाई राज्यको विकास प्रक्रियामा जोड्नु महाेत्सवकाे मुख्य लक्ष्य हो रहेकाे उनलेे बताए ।
यो महोत्सवले युवाहरूमा आपसी समझदारी, एकता र समृद्ध कर्णाली निर्माणको सपनालाई साकार पार्न उत्प्रेरकको भूमिका खेल्ने विश्वास गरिएको छ। कर्णालीको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र सामाजिक रूपान्तरणका लागि युवाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा पनि यसले दिशानिर्देश गर्नेछ।
कर्णाली प्रदेशका सबै क्षेत्रका युवाहरूलाई यस ऐतिहासिक उत्सवमा सहभागी भई आफ्नो आवाज बुलन्द गर्न र सिक्ने तथा सिकाउने अवसरको सदुपयोग गर्न शाहीले आह्वान गरेका छन् ।

नेपाल कर्म । १७ बैशाख २०८३, बिहीबार १४:५९