
वीरेन्द्रनगर, सुर्खेत
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको ‘चौथो कर्णाली चलचित्र कार्यशाला–२०८३’ एक विशेष समारोहका बीच समापन भएको छ। केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको उक्त कार्यशालाको समापन गर्दै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
समापन समारोहका प्रमुख अतिथि एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक चलचित्र भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अब कर्णालीको कथा अरूले होइन, यहीँका दक्ष प्राविधिकहरूले खिच्नुपर्छ र लेख्नुपर्छ। यो कार्यशालाले बोर्डको उद्देश्य अनुसार नै स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ।” उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्न र सिर्जनशील काममा लाग्न सहभागीहरूलाई आग्रह समेत गर्नुभयो।

यस पटकको कार्यशाला विशेष गरी स्कृप्ट लेखन र छायांकन (सिनेमाटोग्राफी) विधामा केन्द्रित थियो। ६ दिनसम्म वरिष्ठ निर्देशक शिवम अधिकारी र छायांकार निरज कँडेलबाट प्राप्त प्रशिक्षणले विद्यार्थीहरूमा ठूलो उत्साह थपेको छ। सहभागी प्रशिक्षार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र नभई, क्यामेरा चलाउने र कथा बुन्ने प्रयोगात्मक अभ्यास समेत गरेका थिए।
समापनका अवसरमा बोल्दै प्रशिक्षार्थीहरूले कार्यशाला अघिको तुलनामा आफूहरूमा प्राविधिक दृष्टिकोणले धेरै परिवर्तन आएको र चलचित्र निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाएको अनुभव सुनाए।

आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र खड्काले कार्यशालाको उद्देश्य सफल भएको बताउँदै कर्णालीका प्रतिभाहरूलाई राष्ट्रिय मूलधारमा जोड्न यस्ता अभियान जारी रहने प्रतिबद्धता जनाउनुभयो। खड्काले भन्नुभयो, “हामीले जुन लक्ष्य राखेर यो चौथो संस्करण सुरु गरेका थियौँ, विद्यार्थीहरूको सक्रियता र सिकाई प्रतिको भोकले हामीलाई थप उत्साहित बनाएको छ। कर्णाली अब छायांकनका लागि लोकेसन मात्र होइन, दक्ष जनशक्तिको खानी पनि बन्दैछ।”
समारोहकै अवसरमा कर्णालीको कला र रङ्गमञ्चको क्षेत्रमा विगत तीन दशकदेखि अविचलित रूपमा क्रियाशील व्यक्तित्व याम आचार्यलाई ‘स्रष्टा सम्मान २०८३’ बाट सम्मानित गरिएको छ।
समारोहमा कर्णालीका अग्रज कलाकार, रङ्गकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई बधाई दिँदै उनीहरूले यस्ता प्राविधिक कार्यशालाले स्थानीय कला संस्कृतिलाई व्यावसायिक रूपमा अभिलेखीकरण गर्न मद्दत पुग्ने धारणा राखेका थिए।
सामाजिक विकास मन्त्रालय र चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न यस कार्यशालाले कर्णाली प्रदेशमा चलचित्र निर्माणको नयाँ जग बसाल्ने विश्वास गरिएको छ।

नेपाल कर्म । १३ बैशाख २०८३, आईतवार २०:३०