कश्मीरमा मारिएका न्यौपानेलाई राहत र क्षतिपूर्ति दिन माग

कपिलवस्तु । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा एक वर्षअघि भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेका परिवारलाई राहत र क्षतिपूर्तिको माग गर्दै स्थानीय जागरुक युवाले सरकारको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएका छन् ।



जिल्ला प्रशासन कार्यालयमार्फत बुधबार प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले गत वर्ष सार्वजनिक रूपमा व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ ।

युवा अगुवा प्रकाश घिमिरेको नेतृत्वमा जिल्लाका जागरुक युवाहरूका तर्फबाट प्रजिअ जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाइएको हो । घटना भएको एक वर्ष पूरा भइसक्दा पनि पीडित परिवारले सरकारकातर्फबाट कुनै राहत र क्षतिपूर्ति प्राप्त गर्न नसक्नु दुःखद भएको भन्दै राज्यले वाचा गरेअनुसार राहत रकम तत्काल उपलब्ध गराउन र भारत सरकारसँग पनि क्षतिपूर्तिका लागि कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।

जम्मु–कश्मीर घुम्न गएका बेला मारिएका मृतक न्यौपाने रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ निवासी हुन् ।

तपाईको प्रतिक्रिया