सुर्खेतमा ‘चौथो कर्णाली चलचित्र कार्यशाला’ सुरु



वीरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘चौथो कर्णाली चलचित्र कार्यशाला–२०८३’  सुरु भएको छ। केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश र चलचित्र विकास बोर्डको सह-आयोजनामा यो कार्यशाला सुरु भएको हो।

सुर्खेत जिल्ला समन्वय समितिको हलमा आयोजित उद्घाटन समारोहमा कर्णालीको कला र चलचित्र क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यका साथ वैशाख ८ गतेदेखि १३ गतेसम्म चल्ने ६ दिने प्रशिक्षणको शुभारम्भ गरिएको छ।

विगतका तीनवटा संस्करणहरूमा अभिनय, मेकअप, स्कृप्ट लेखन र दृश्य सम्पादन जस्ता आधारभूत विषयमा केन्द्रित रहेर स्थानीय युवाहरूलाई प्रशिक्षण दिइएको थियो। तर, चौथो संस्करणमा भने विशेष गरी स्कृप्ट लेखन र क्यामेरा छायांकन विधामा केन्द्रित रहेर एडभान्स प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

यस पटकको प्रशिक्षणका लागि नेपालका प्रतिष्ठित चलचित्रकर्मीहरू सुर्खेत आइपुगेका छन्। जसमा वरिष्ठ चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीले स्कृप्ट लेखन र वरिष्ठ छायांकार निरज कँडेलले क्यामेरा छायांकन सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिनेछन्।

कार्यक्रमको उद्घाटन गर्दै आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काले चलचित्र विधा आफैँमा जटिल र चुनौतीपूर्ण भए पनि कर्णालीका कुना-कन्दरामा लुकेका प्रतिभाहरूलाई उजागर गर्न यो कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “कर्णाली जस्तो भूगोलमा सिर्जनशील युवाहरू छन्, उनीहरूको क्षमतामा निखार ल्याएर राष्ट्रिय स्तरसम्म पुर्याउनु नै हाम्रो मुख्य लक्ष्य हो।”

वरिष्ठ कलाकारहरूको ऐक्यबद्धता

उद्घाटन सत्रमा विशेष अतिथिको रूपमा बोल्दै वरिष्ठ कलाकार तथा रङ्गकर्मी प्रेमदेव गिरीले सुर्खेतको चलचित्र र रङ्गमञ्चको पुरानो इतिहास स्मरण गर्नुभयो। उहाँले विगतका संघर्ष र आजको बदलिँदो परिवेशबारे चर्चा गर्दै नयाँ पुस्ताले प्रविधिको प्रयोग गर्दै गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, अर्का विशेष अतिथि तथा वरिष्ठ रङ्गकर्मी गणेश गौतमले कर्णालीको कथा अब कर्णालीकै युवाहरूले भन्नुपर्ने बताउनुभयो। कार्यक्रममा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष गणेश भण्डारी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले पनि प्रशिक्षणको सफलताको शुभकामना दिँदै यस्ता कार्यशालाले प्रदेशमा चलचित्र संस्कृतिको विकास गर्ने धारणा राख्नुभयो।

सहकार्य र सहभागिता

कार्यशालालाई आरंग नेपाल लगायतका स्थानीय संस्थाहरूले पनि समन्वय गरेका छन्। कर्णालीका विभिन्न जिल्लाका उत्साही युवाहरूको सहभागिता रहेको यस कार्यशालाले प्रदेशभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने र कर्णालीको मौलिक कथालाई पर्दामा ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया