सुर्खेत । कर्णाली प्रदेशको मुख्य ट्रान्जिट केन्द्र वीरेन्द्रनगर यतिबेला यातायात बन्दका कारण अस्तव्यस्त बनेको छ । लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरू बिहानैदेखि बाटोमै अलपत्र परेका छन् । दैनिक काम, उपचार र अध्ययनका लागि यात्रा गर्नेहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।

सुर्खेतमा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लि.हरूले संयुक्त रूपमा निर्णय गर्दै सवारी बन्द गरेका हुन् । निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीहरू अवैध रूपमा यात्रु बोकेर सञ्चालन भइरहँदा पनि प्रहरी मौन बसेको र सार्वजनिक सवारीका मजदुरलाई पक्राउ गरेको आरोप देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने रातो नम्बर प्लेटका सवारी चलाउने क्रममा भएको विवादपछि चार जना यातायात मजदुरलाई नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेका मजदुरलाई रिहा र रातो नम्बर प्लेटका सवारीलाई कडाइका साथ नियमन नगरेसम्म सार्वजनिक सवारी सञ्चालन नगर्ने सचिव खड्का बताउँछन् ।


‘यसरी तेल बढ्दा राज्य मौन छ, व्यवसायी मर्कामा छन्,’ खड्का भन्छन्, ‘मजदुरहरुको रिहाइ र स्पष्ट रुपमा प्रशासनले रातो नम्बर प्लेटका सवारी सञ्चालनमा निकाश नकिल्दासम्म सवारी सञ्चालन गर्दैनौं ।’
नेपालमा रातो नम्बर प्लेटका सवारी साधन निजी प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने कानुनी व्यवस्था छ । तर, व्यवहारमा ती सवारीहरू भाडामा प्रयोग हुने गुनासो पुरानै हो । यहीँ कमजोरीका कारण सार्वजनिक यातायात व्यवसायी र निजी सवारीबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ ।

सुशील खड्का । २० चैत्र २०८२, शुक्रबार ०९:३१