कर्णालीको छालमा ‘चमत्कार’, नदी नथुनी बिजुली निकाल्ने तयारी

सुर्खेत । नेपालको जलविद्युत इतिहासमा हामीले अहिलेसम्म एउटै भाष्य सुन्दै र पढ्दै आएका छौं की नदी थुन्ने, ठूलो बाँध (ड्याम) बनाउने, पहाड खोपेर सुरुङ खन्ने र पानीलाई उचाइबाट खसालेर बिजुली निकाल्ने ।



यो हाम्रो स्थापित र पारम्परिक हाइड्रोपावर मोडेल हो । तर, समय बदलिँदै जाँदा प्रविधिले यस्तो फड्को मारेको छ कि अब बिजुली निकाल्न न त नदीको बाटो छेक्नुपर्छ, न त पहाडका छाती चिर्नुपर्छ । सुन्दा कुनै कथा जस्तो लागे पनि कर्णालीको तीव्र बहावमा अहिले ठ्याक्कै यस्तै एउटा चमत्कारिक निर्माण भइरहेको छ ।


सुदूरपश्चिमको कैलाली र कर्णाली प्रदेशको सुर्खेतको सिमाना भएर बग्ने कर्णाली नदीको किनारमा अहिले नेपालकै पहिलो हाइड्रोकाइनेटिक प्रविधिको परीक्षण भइरहेको हो ।

विना कुनै बाँध र वातावरणीय क्षति, बगिरहेको नदीको आफ्नै गतिबाट १०० किलोवाट बिजुली निकाल्ने यो नौलो प्रयासले नेपाली ऊर्जा क्षेत्रमा नयाँ बहस र उत्साह सिर्जना गरेको छ । यो परियोजनाको एउटा रोचक पाटो के छ भने, कर्णालीको छालमा राखिने यी भीमकाय संरचनाहरू त्यहीँ निर्माण गरिएका भने होइनन् ।

बिजुली उत्पादनका लागि आवश्यक पर्ने डुंगाशैलीका दुई वटा ठूला डिब्बाहरू रुपन्देहीको बुटवलमा तयार पारिएका हुन् । मेघा हाइड्रो एण्ड इन्जिनियरिङ, बुटवलको कारखानामा महिनौँ लगाएर इन्जिनियरहरूले यी विशेष संरचनाहरू बनाएका हुन् ।

बुटवलमा तयार भएका यी गह्रौँ र जटिल संरचनाहरूलाई ठूला ट्रकमा लोड गरी कैलालीको मोहन्याल गाउँपालिका–७, साँझ बसेरी पु¥याइएको हो । अहिले कर्णाली नदीको बगरमा प्राविधिकहरू यी डिब्बाहरूलाई जोड्ने र टर्बाइन जडान गर्ने काममा दिनरात खटिएका छन् ।

बुटवलबाट कर्णालीको बगरसम्मको यो यात्रा आफैँमा चुनौतीपूर्ण थियो, तर स्वदेशी सीप र विदेशी प्रविधिको संयोजनले यसलाई सम्भव तुल्याएको छ । साधारणतया जलविद्युत निकाल्न पानीको उचाइ चाहिन्छ ।

तर, हाइड्रोकाइनेटिक प्रविधिमा पानीको बहावको गति मुख्य कुरा हो । यसलाई सजिलो गरी बुझ्दा जसरी हावाको गतिले हावा चक्की घुम्छ, त्यसैगरी नदीको पानीको गतिले पानीमुनि रहेको टर्बाइनलाई घुमाउँने छ ।

‘हामीले नदीको पानीलाई कतै डाइभर्ट गर्दैनौं, न त नदीको प्राकृतिक बहावलाई नै रोक्छौं,’ मेघा हाइड्रोका इन्चार्ज अम्बिकाप्रसाद बस्याल भन्छन्, ‘नदीको बीचमा यी डुंगाशैलीका संरचनाहरूलाई फलामको बलियो साङ्लाले बाँधेर राखिन्छ । नदी जति तीव्र गतिमा बग्छ, यसले टर्बाइनलाई त्यति नै छिटो घुमाउँछ र विना कुनै वातावरणीय विनाश बिजुली उत्पादन हुन्छ ।’

धेरैको मनमा प्रश्न उठेको छ की वर्षायाममा कर्णालीमा आउने भीषण बाढीले यी संरचनालाई बगाउँदैन ? प्राविधिकहरूका अनुसार यसको डिजाइन नै तैरिने प्रकृतिको छ । यी संरचनाहरू पानीको सतहमा तैरिनेछन् ।

जब वर्षातमा नदीको बहाव र सतह बढ्छ, यी डुंगाहरू आफैँ माथि उठ्छन् र जब पानी घट्छ, यी विस्तारै तल बस्छन् । नदीको बीचमा यी संरचनालाई स्थिर राख्न जमिनमा गाडिएका पिलरहरूसँग बलियो साङ्लाले बाँधिएको हुन्छ ।

यसले गर्दा नदीको धार परिवर्तन भए पनि वा बाढी आए पनि विद्युत गृह सुरक्षित रहन्छ । यो प्रविधि नेपालका लागि एउटा उदाहरणीय परीक्षण हुन सक्ने बस्याल बताउँछन् ।

बाढी आएको बेला ठूला रुख बाहेक अन्य बालुवा र ढुंगाले यो संरचनालाई असर नगर्ने बस्यालले जानकारी दिए । यो परियोजनाको पछाडि बलियो अन्तर्राष्ट्रिय र राष्ट्रिय सहकार्य छ । बेलायत सरकारको इन्नोभेट यूकेको मुख्य लगानीमा यो काम भइरहेको हो ।

यसमा बेलायतको एकलस इनर्जीले मुख्य प्राविधिक डिजाइन उपलब्ध गराएको छ भने नेपालको तर्फबाट मेघा हाइड्रो एण्ड इन्जिनियरिङले निर्माण र जडानको जिम्मा लिएको छ । बस्यालका अनुसार, वर्षायामको बाढी सुरु हुनुअघि नै निर्माण सम्पन्न गरी १०० किलोवाट बिजुली निकाल्ने लक्ष्य राखिएको छ ।

‘अहिले बगरमा जडानको काम अन्तिम चरणमा छ । यदि यो परीक्षण सफल भयो भने नेपालका अन्य ठूला र तीव्र बहाव भएका नदीहरूमा साना–साना ग्रिड बनाएर उज्यालो छर्न सकिनेछ,’ उनी उत्साहित हुँदै सुनाउँछन् ।

नेपालका कतिपय दुर्गम बस्तीहरू यस्ता छन्, जहाँ न राष्ट्रिय प्रसारण लाइन पुग्न सक्छ, न त ठूला जलविद्युत आयोजना बनाउन भूगोलले साथ दिन्छ । त्यस्ता ठाउँका लागि यो प्रविधि भविष्यको वरदान सावित हुने निश्चित छ ।

नेपालमा अहिले पनि हजारौं मेगावाट विद्युत उत्पादनको चर्चा हुन्छ, तर त्यो चर्चा अक्सर ठूला बाँध र वैदेशिक ऋणको वरिपरि घुम्दा निर्माणमा विलम्ब भइरहेको छ ।

कर्णालीको यो सानो तर अर्थपूर्ण १०० किलोवाटको परीक्षणले भने एउटा वैकल्पिक बाटो देखाएको छ । यसबाट बिजुलीको उत्पादन मात्र होइन, नेपाली इन्जिनियरिङ क्षेत्रका लागि एउटा नयाँ लर्निङ सेन्टर बन्ने बस्याल बताउँछन् ।

‘यो परियोजना सफल भएमा कर्णालीको पानीले बगर मात्र कटान गर्ने छैन, किनाराका बस्तीमा फलामे संरचनाहरूलाई घुमाएर स्थानीयको घरमा उज्यालो पु¥याउनेछ,’ बस्याल भन्छन्, ‘सफल नतिजा दियो भने, भोलिका दिनमा नेपालका कोशी, गण्डकी, कर्णाली र अन्य ठूला नदीहरू बिजुली निकाल्ने खुला कारखानाका रूपमा विकसित हुनेछन् ।’

अहिले सुर्खेत र कैलालीका बासिन्दाहरू मात्र होइन, सिङ्गो ऊर्जा क्षेत्रका विज्ञहरू कर्णालीको यो किनारमा भइरहेको अन्तिम जडानको कामलाई निकै चासोका साथ नियालिरहेका छन् । कर्णालीको यो बहावले नेपाली इन्जिनियरिङमा एउटा नयाँ र आशलाग्दो इतिहास लेख्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया