सुर्खेत । फागुन २३ गतेको बिहान करिब साढे पाँच बजे। १६ वर्षीया इनिशा विक आफ्नो दिनको सामान्य योजना अनुसार घरबाट निस्किएकी थिइन्। ‘स्कुलमा प्रयोगात्मक छ, दुई घण्टामा सकाएर फर्किन्छु’ भन्दै उनले आमासँग कुरा गरेर निस्किएकी थिइन्।
तर त्यो बिहान उनको जीवनको अन्तिम यात्रा बनेको थियो। केही घण्टाको छोटो समयमा घटेको घटनाले उनको परिवारलाई मात्रै होइन, समाजलाई नै स्तब्ध बनायो।इनिशाको स्थायी घर गुर्भाकोट नगरपालिका–६, बडाखोलीमा भए पनि उनी हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्।
बिहानको सूर्योदयसँगै उनी बाहिर निस्किएकी थिइन्। तर त्यो बिहान जंगलभित्रको छोटो पैदल यात्रा उनको जीवनका लागि निर्णायक बन्न पुग्यो। बिहान करिब ५ः३० बजे अनमोल गौली खजुरास्थित आफन्तको घरबाट निस्किए। करिब १० मिनेटमै उनी मंगलगढी चोक पुगे। त्यहाँबाट उनी अटोरिक्सा चढेर पश्चिमतर्फ लागे। केही समयपछि रेडियो नेपाल प्रादेशिक कार्यालय अगाडि ओर्लिएर उत्तरतर्फ लागे।

अघिल्लो रातमै तय भएको योजना अनुसार उनी वीरेन्द्रनगर–१ गैरीगाउँ पुगे। त्यहीँ इनिशासँग भेट भयो। दुवै जनाले त्यहाँ बाटो तय गरेर देउतीथान निस्कने सडक भएर प्रदेश आयुर्वेद अस्पताल अगाडीको बाटोहुँदै उत्तरकाे जंगलतर्फ गए।
बिहान ६ः२६ बजे सीसीटीभी फुटेजले देखाएको छ, उनीहरू अस्पताल अगाडिको बाटोहुँदै जंगलतर्फ हिँडिरहेका छन्। केही मिनेटपछि उनीहरू गाउँ पार गर्दै जनजागरण सामुदायिक वन भित्र प्रवेश गर्छन्। बिहान ६ः३० बजे गाउँकी एक महिलाले उनीहरूलाई जंगलतर्फ जाँदै गरेको देखेकी थिइन्।
जंगलभित्रको छोटो बाटो गोठीकाँडा जाने पथ त्यो दिन इनिशाका लागि अन्तिम यात्रा बन्यो। प्रहरी अनुसन्धान अनुसार, जंगलभित्रको करिब दुई घण्टा नै घटनाको केन्द्र हो। अनुसन्धानले देखाएको छ, ‘उनीहरू पहिले एक स्थानमा बसे, पछि अर्को ठाउँमा सरे। त्यहाँ शारीरिक सम्पर्क भएको देखिएको छ। तर केही बेरमै इनिशा बेहोस भइन्।’
अनमोलले प्रहरीलाई दिएको बयान अनुसार, ‘शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव सुरु भयो। मैले उनलाई बचाउन प्रयास गरेँ । कृत्रिम सास दिन खोजेँ, हातखुट्टा चलाएँ, जुत्ता र मोजा खोलेर पैतलामा मालिस गरेँ। तर कुनै उपायले काम गरेन।”
अन्ततः बिहान ८ः२५ बजे अनमोलले साथी दिपेश ढकाललाई फोन गरे। फोनमा उनको स्वर आत्तिएको थियो ‘इनिशा बेहोस भइन्, छिटो आउ।’ तर दिपेशसँग तत्काल जान सवारी साधन थिएन। उनले आउन ढिला हुने जानकारी दिए।
अनमोलले अर्को साथीलाई पनि फोन गरे। पटक–पटक फोन संवाद भयो। तर उनीहरू तीनै जना समयमै अनमाेलले बाेलाएका ठाउँमा पुगेनन्। अन्ततः बिहान ९ः०७ बजे दिपेश घटनास्थल नजिक पुगे। ९ः११ बजे अन्य दुई साथी पनि त्यहाँ पुगे। त्यतिबेला, इनिशा बेहोस र अनमोल अर्धअचेत।
साथीहरूमध्ये एक जना गाउँतर्फ झरेर स्थानीयलाई अस्पताल लैजान सहयाेग मागेकाे प्रहरी अनुसन्धानमा भनिएकाे छ । उनले भने, ‘माथि एक जना साथी बेहोस छिन्, तुरुन्त अस्पताल लैजानुपर्ने भयाे।’

शुरूमा स्थानीयहरू घटनास्थल पुगेर प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थल पुग्दा अनमाेल घटनास्थलमै थिए भने इनिशा बेहास अवस्थामा थिइन् । प्रहरीले अर्धअचेत देखिएका अनमाेललाइ तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्यायाे । तर इनिशाकाे सास नचलेकाे भेटाएपछि बाँकी अनुसन्धान थालेकाे थियाे ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी माेहनजंग बुढथापासमेत घटनास्थल पुगेका थिए । त्यसपछि इनिशाका आफन्तकाे खाेजी थालेर घटनास्थलमै बाेलाएकाे थियाे ।
घटना भएकै दिन १६ वर्षीय अनमाेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा अन्य तीन जनालाई केही दिनपछि पक्राउ गरी अनुसन्धान गरेको थियो ।
पोष्टमार्टम रिपोर्टमा भनिएकाे छ, ‘शारीरिक सम्पर्कका क्रममा यौनांगमा गहिरो चोट, अत्यधिक रक्तश्राव र त्यसैका कारण नै मृत्यु हाे ।’ सुर्खेत प्रहरीले मृतक र आरोपितका मोबाइल, भजाइनल स्वाब र डिजिटल प्रमाणहरू विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, प्राप्त वैज्ञानिक प्रमाणहरूले सामूहिक बलात्कार पुष्टि गरेको छैन। पोष्टमार्टम रिपोर्ट र अनुसन्धान प्रतिवेदन अनुसार, इनिशाको मृत्यु मुख्य अभियुक्त अनमाेलसँगको शारीरिक सम्पर्क र रक्तस्रावका कारण भएको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकिएको जानकारी दिए ।मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैदको माग गरिएको छ। अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ।
यसअघि पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै विरोध जनाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत घटनाको अनुसन्धानमा संलग्न भएको थियो । प्रहरीले उच्च प्रविधिको प्रयोग गरी अनुसन्धान गरेको जनाएको छ ।
परिवारले दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव नबुझ्ने अडान राखेको छ। हाल इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।

सुशील खड्का । ११ चैत्र २०८२, बुधबार १७:५३