सेना दिवसमा पत्रकार ज्योति कटुवाल ‘प्रधान सेनापति प्रशंसा निशान’बाट सम्मानित

सुर्खेत । नेपाली सेनाले सेना दिवसका अवसरमा पत्रकार ज्योति कटुवाललाई ‘प्रधान सेनापति प्रशंसा निशान प्रदान गरी सम्मान गरेको छ। सेनाका गतिविधि, जिम्मेवारी क्षेत्रभित्र सञ्चालन भएका विभिन्न कार्यक्रम तथा विपद् व्यवस्थापनका कार्यहरूलाई समाचार, भिडियो र फिचर सामग्रीमार्फत प्रभावकारी ढंगले जनतामाझ पुर्‍याएको योगदानको कदर गर्दै उनलाइ सम्मान प्रदान गरिएको हो।



नेपाली सेनाद्वारा सञ्चालित विविध गतिविधिहरूको तथ्यपरक र सन्तुलित प्रस्तुति गर्दै नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउन तथा सेनाको छवि उच्च राख्न उल्लेखनीय भूमिका निर्वाह उनले गरेकाे सेनाले जनाएकाे छ ।

कान्तिपुर दैनिकमा सुर्खेत संवाददाताका रूपमा कार्यरत कटुवाल लामो समयदेखि निरन्तर रूपमा सेनासम्बन्धी गतिविधिहरूलाई प्राथमिकताका साथ प्रकाशन–प्रसारण गर्दै आएकी थिइन् ।

दैलेख निवासी कटुवालले कर्णाली प्रदेशका दुर्गम क्षेत्रहरूमा नेपाली सेनाले गरेका उद्धार, राहत वितरण, पूर्वाधार निर्माण सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पत्रकारितामार्फत उजागर गर्दै आएकी थिइन्।

विपद्का कठिन घडीमा सेनाले खेलेको भूमिकालाई आम नागरिकसम्म पुर्‍याउन उनको सक्रियता उल्लेखनीय मानिएको छ। काठमाडौं आयोजित समारोहमा प्रधान सेनापति अशाेकराज सग्देलले कटुवाललाइ निशान प्रदान गरेका हुन् ।

पत्रकारितामार्फत राज्यका जिम्मेवार निकायका कार्यहरू पारदर्शी र तथ्यमा आधारित रूपमा सार्वजनिक गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले सेनाले हरेक वर्ष सेना दिवसका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया