सुर्खेतमा लागुऔषध सेवन गरी सवारी चलाएकाे आरोपमा ६ जना चालक पक्राउ

सुर्खेत । लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ६ जना चालकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर-११ मा सञ्चालन गरेकाे किड परीक्षणका क्रममा लागुऔषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएकाे हाे ।



चेकजाँचका क्रममा चालकहरूमा लागुऔषध सेवन गरेको प्रारम्भिक लक्षण देखिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माेहनजंग बुढथापाले जानकारी दिए । उनकाअनुसार टेष्ट किडकाे प्रयोग गरी परीक्षण गर्दा उनीहरूले लागुऔषध सेवन गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको छ।

नियन्त्रणमा रहेका सवारी चालकहरूमा वीरगंज महानगरपालिका–८ पर्साका २८ वर्षीय अजय थापा, वीरेन्द्रनगर–११ सुर्खेतका २५ वर्षीय कासीराम डाँगी र २५ वर्षीय प्रकाश वि.क.,  चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ दैलेखका २४ वर्षीय हिक्मत शाही, सोही स्थान २५ वर्षीय जीवन शाही, र गुराँस गाउँपालिका–४ निवासी २५ वर्षीय डिल बहादुर वि.क. रहेकाे प्रवक्ता बुढथापाले जानकारी दिए ।

प्रहरीका अनुसार लागुऔषध सेवन गरी सवारी चलाउनु कानून विपरीत रहेकाे र यसले सवारी दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधिविरुद्ध कडाइका साथ चेकजाँच तथा निगरानी कार्यलाई निरन्तरता दिन किटबाट परीक्षण थालेकाे जनाएको छ।

तपाईको प्रतिक्रिया