माेटरसाइकल ठाेक्किदा तीन जना घाइते

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ ठुलो ब्युरेनी नजिक रत्न राजमार्गमा दुई सवारी साधन आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको क.प्र.०२–०० प २६३७ नम्बरको स्कुटर र सुर्खेत सदरमुकामबाट छिन्चुतर्फ जाँदै गरेको म.प्र.०३–०४० प २३७६ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।



घाइतेमध्ये मोटरसाइकल चालक भेरीगंगा नगरपालिका–१२ निवासी २८ वर्षीय प्रेम थापाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ । मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३० वर्षीय समिर मल्लको अवस्था मध्यम रहेको छ ।

त्यस्तै, स्कुटर चालक दैलेखको नारायण नगरपालिका–११ निवासी ४१ वर्षीय प्रकाश मल्लको निधार तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर शाहीको कमाण्डमा ट्राफिकसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो । हाल घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया