सधै चुनावी नारामा कर्णालीका यी आयोजना


सुर्खेत । कर्णालीका सधै चुनावी नारा बन्ने गरेका दजर्नौ पूर्वाधार विकास कामहरु रहेका छन् । कर्णालीमा विकासको मेरूदण्ड मानिएका सडक, विद्युत्, विमानस्थललगायत पूर्वाधार वर्षौंदेखि अलपत्र पर्ने गरेका छन् । जुन सधै चुनावी एजेन्टा बन्ने गरेका छन् ।



त्यसमध्येको एउटा उदाहरण हो, कालीकोट नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा । जुन पञ्चायतकालदेखि नै बनाउने नियमित उडानका लागि चुनावी नारा बन्ने गरेको छ । यो विमानस्थल २०४२ सालदेखि निर्माण थालिएको हो र हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन् ।

विमानस्थलमा ०७३ माघ २८ गते परीक्षण गरिएपनि त्यसभन्दापछि पनि दुई वटा उरीक्षण उडान भए । त्यसयता जहाज चलेका छैनन् । जहाज नचल्ने विमानस्थललाई कालोपत्रसमेत गरिएको छ ।

विमानस्थल नियमित सञ्चालनमा ल्याउन सदरमुकाम मान्मदेखि कोटबाडासम्म केबुलकार जडानको पहल थालिएको छ । केबुलकार निर्माणका लागि स्रोतको खोजी भइरहेको नरहरिनाथ गाउँपालिका पूर्वअध्यक्ष धीरबहादुर बिष्टले बताए । ‘विमानस्थल त पूरा भएको छ । नियमित सञ्चालनका लागि केवलकार बनाउने पर्यटकीय क्षेत्रको विकास गरेर मात्र सञ्चालन हुने अवस्थामा छ,’ उनले भने, ‘नियमित सञ्चालन गर्न त्यहाँ पुग्ने बाटोसहित रामारोसन, त्रिवेणी पाटन र बडिमालिका पर्यटकीयस्थलसम्म जोड्न केबुलकार चाहिने हो । त्यसका लागि पहल पनि थालियो । सरकारी तवरबाट सहयोग नहुँदा समस्या भएको छ ।

केबुलकार निर्माणको लागि एक अर्ब १४ करोड लागतको डीपीआर बने पनि स्रोत नहुँदा समस्या भएको विष्टले बताए । ‘सुरुमा कर्णाली प्रदेश र स्थानीय तहको ५० प्रतिशत तथा अन्य निकायबाट ५० प्रतिशत रकम जुटाउने योजना बनाइएका थियौं,’ उनले भने,‘अहिले त्यो काम पनि चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।’

यो विमानस्थल निर्माणका क्रममा स्थानीय ७ जनासहित धादिङ, काभ्रे, सिन्धुली र रामेछापबाट आएका ३५ जनाको तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।

हुम्ला जोड्ने सडक
कर्णालीको अर्को चुनावी नाराको कर्णाली हुम्ला जिल्लामा सडक पु¥याउने लक्ष्य । त्रिदेशीय सडकमा रहेको यो सडकमा अहिले पनि पूर्णता पाउन सकेको छैन् । कालीकोटको खुलालुदेखि हिल्सासम्म ३ सय ४७ किलोमिटर पर्छ । तर जमुनाहदेखि चीनको हिल्सासम्म ५ सय ८ किलोमिटर दूरी पर्छ । भारत चीन जोड्ने यो सडक सधै चुनावी नारा बन्ने गरेको छ । चट्टान, बजेट अभाव र निकासमा हुने ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना भनिए पनि ट्र्याक खुल्न डेढ दशक लागेको हुम्ला सर्केगाडका नवराज रोकायाले बताए ।

हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यसहित साविक जिल्ला विकास समिति हुम्लाले ०५७ मा सुरु गरेको सडक निर्माणको योजना अझै अलपत्र छ ।

त्यस्तै, कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गलाई दुई लेनको बनाउने भन्दै सुर्खेत, दैलेख, कालीकोट, मुगु र जुम्लाका उम्मेदवारले २०६४ सालयताका चुनावमा मत मागिरहेका छन् । राजमार्ग भने बर्सेनि जीर्ण बन्दै गएको छ ।

भेरी करिडोर (नेपालगन्ज–छिन्चु–जाजरकोट, डोल्पा–धो मोरिम्ला–तिब्बत र सुर्खेत–जुम्ला–सिन्जा– मुगु–नाग्चेनाग्ला–तिब्बत सडक) को काम लामो समयदेखि धीमा गतिमा अघि बढिरहेको छ । भेरी करिडोरअन्तर्गत दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माणको काम कडा चट्टान र भौगोलिक विकटताका कारण जटिल छ भने मुगु–नाग्चेनाग्ला सडकमा बर्सेनि न्यून बजेट विनियोजन हुँदा सडक निर्माणको काम सुस्त बनेको हो ।

भेरी बबई भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
कर्णालीमा अहिले तीव्र गतिमा काम भइरहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको योजना ०३४ सालमा बनाइएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रारम्भिक अध्ययन गरेको थियो, पछि जापानी सहयोग नियोग (जाइका) ले ०४९ सालमा आयोजनाको गुरुयोजना बनाएको थियो । जाइकाबाटै ०५५ सालमा सम्भाव्यता अध्ययन भएको यो आयोजना आर्थिक वर्ष ०६५÷६६ सालबाट तत्कालीन सिँचाइ विभागबाट कार्यान्वयनमा ल्याइएको हो । आयोजनामा अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झन्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित काम भइरहेको हो । आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । यो आयोजनाले अझै पूर्णता पाउन सकेको छैन् ।

सधै चुनावी एजेन्टा डोल्पाको मसिनेचौर विमानस्थल
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी–७ मा रहेको मसिनेचौर विमानस्थल पनि सधै चुनावी नारा बन्ने गरेको छ । विमानस्थल निर्माण गर्न २९ वर्ष लागेको र निर्माण भएको पाँच वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने नसके पदबाटै राजिनामा दिने गत मंगलबार त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै घोषणा गरे । तेस्रो पटक निर्वाचनमा भाग लिन लागेका बुढा २०७४ सालमा नेकपा(एमाले), २०७९ सालमा एकीकृत समाजवादीबाट विजयी भएका थिए । हाल उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया