छ जना पुरुष उम्मेदवारसँग भिड्दै लाम्जोङ


हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टासी लाम्जोङ एक्ली महिला उम्मेदवार हुन् ।



रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएपछि लाम्जोङ चुनावी प्रतिस्पर्धामा उत्रिभएकी हुन्। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका सात जना उम्मेदवारमध्ये एक जना मात्र महिला रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए ।

प्रारम्भमा रास्वपाले लाम्जोङको नाम समानुपातिक बन्द सूचीमा समावेश गरेको थियो । तर भूराजनीतिक कारण देखाउँदै पछि उक्त सूचीबाट नाम हटाइएको थियो । समानुपातिक सूचीबाट नाम हटाइएको जानकारी पाएपछि रास्वपा हुम्ला र लिमीका स्थानीय पार्टी कार्यालयमा गरिएको पहलपछि उनले प्रत्यक्षतर्फको टिकट पाएकी हुन् ।

२६ वर्षीया लाम्जोङले नवयुवाको भावना र आवाज प्रतिनिधित्व गर्न आफूले उम्मेदवारी दिएको बताइन्् । ‘केही गरौँ भन्ने हुटहुटीका कारण सानै उमेरमा राजनीतिमा होमिएकी हुँ,’ उनको भनाइ छ । नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको हल्जी बस्तीकी स्थायी बासिन्दा लाम्जोङलाई नयाँ अनुहारलाई अवसर दिने हुम्लावासीको चाहनामा आफूले विश्वास राखेको बताइन् ।

लाम्जोङसँग प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार पुरुष छन् । नेपाली कांग्रेसबाट जयपति रोकाया, नेकपा एमालेबाट दलबहादुर रावल, नेपाल कम्युनिस्ट पार्टीबाट डा. दिपेन्द्र रोकाया, नेकपा (माओवादी केन्द्र)बाट कुम्भ बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिल कार्की तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया