सडक नाटकबाट नसर्ने रोगबारे सचेतना फैलाउँदै

सुर्खेत । सुर्खेत पूर्वको गुर्भाकोट नगरपालिकामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित जनचेतनामूलक सडक नाटक ‘नसर्ने रोग’ प्रदर्शन गरिएको छ। गुर्भाकोट नगरपालिका–८, मेहेलकुनास्थित सूर्यदय माध्यमिक विद्यालयको प्रांगणमा आयोजित नाटकले समुदायमा स्वास्थ्यप्रति सकारात्मक सोच र व्यवहार विकास गर्ने उदेश्यले नाटक प्रदर्शन गरिएकाे हाे।



सडक नाटकमार्फत बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहमा देखिने विभिन्न किसिमका नसर्ने रोग, तिनका लक्षण, रोगबाट बच्ने उपाय, स्वस्थ जीवनशैली अपनाउने तरिका तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको थियो।

मनोरञ्जनसँगै शिक्षा दिने शैलीमा प्रस्तुत गरिएको नाटकले दर्शकलाई गम्भीर स्वास्थ्य विषयप्रति सजगताको सन्देश प्रवाह गरेको हाे। कार्यक्रममा स्थानीयवासी तथा विद्यार्थी गरी २०० भन्दा बढी दर्शकको उपस्थिति थियो।

नाटक हेरेपछि धेरै दर्शकले स्वास्थ्यप्रति थप सचेत बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले समुदायमा रोगप्रतिको डरभन्दा पनि रोकथाम र सतर्कताको भावना विकास गर्न सहयोग पुर्‍याएको विश्वास नाटकका संयोजक तथा निर्देशक गणेश गौतमकाे छ।

आंरग नेपालको प्रस्तुति तथा सोसेक नेपालको सहयोगमा प्रस्तुत गरिएको हाे । गौतमले समुदायस्तरमै पुगेर सचेतना फैलाउनु आजको आवश्यकता भएको बताए। “नसर्ने रोगहरू विस्तारै बढ्दै गइरहेका छन्। समयमै सचेत नभए ठूलो समस्या हुन सक्छ। त्यसैले कलामार्फत जनचेतना फैलाउने प्रयास गरेका हौँ,” उनले भने।

नाटकमा वरिष्ठ रंगकर्मी प्रेमदेव गिरी, गणेश गौतम, याम आचार्य, निर्मल प्याकुरेल, बेदन थापा, भूमिका परियार, रुबी पन्त तथा अप्सन पन्तको अभिनय रहेको थियो। कलाकारहरूको जीवन्त प्रस्तुति, भावनात्मक संवाद र यथार्थपरक अभिनयले दर्शक झुमिएका थिए ।

नाटकले समुदायमा स्वस्थ खानपान, नियमित व्यायाम, धूम्रपान तथा मद्यपान नियन्त्रण, मानसिक स्वास्थ्यप्रति सचेतना र समयमै स्वास्थ्य परीक्षण गराउने संस्कार विकास गर्न प्रेरणा दिएको सहभागीहरूले बताएका छन्। यसले दीर्घकालीन रूपमा समुदायको स्वास्थ्यस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

निर्देशक गौतमका अनुसार सडक नाटक आगामी दिनमा गुठु, बिजौरा, दैलेखलगायत वीरेन्द्रनगरका विभिन्न स्थानमा समेत प्रदर्शन गरिनेछ। यस अभियानमार्फत कर्णाली क्षेत्रका ग्रामीण तथा शहरी समुदायमा स्वास्थ्य सचेतना फैलाउँदै समृद्ध र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया