
सुर्खेत । संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटयुसिसि) कर्णाली प्रदेशको नेतृत्व हस्तान्तरण गरिएको छ । सोमबार जेटयुसिसिका कर्णाली प्रदेश अध्यक्ष दिपक चुनाराले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का कार्यवाहक अध्यक्ष राधा श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममार्फत औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्दै अध्यक्ष चुनाराले जेटयुसिसिलाई श्रमिकको हकहित, अधिकार संरक्षण तथा ट्रेड युनियन आन्दोलनलाई सशक्त बनाउने दिशामा निरन्तर अघि बढाइएको बताए । उनले कर्णाली प्रदेशमा श्रमिकका समस्या र सवाललाई एकताबद्ध रूपमा उठाउन जेटयुसिसिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।


नव–नेतृत्व सम्हाल्दै राधा श्रेष्ठले श्रमिक आन्दोलनलाई अझ व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले श्रमिकको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन जेटयुसिसि कर्णालीलाई क्रियाशील बनाइने बताइन् ।
कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रतिनिधि, श्रमिक अगुवा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

नेपाल कर्म । १२ माघ २०८२, सोमबार १८:५७