सुर्खेत । छिन्चु–जाजरकोट जोड्ने कर्णाली प्रदेशकै एक महत्वपूर्ण मुख्य सडक निर्माण थालिएको तीन वर्ष पूरा हुनै लाग्दा पनि अपेक्षाअनुसारको प्रगति देखिएकाे छैन । छिन्चुबाट सुर्खेतकै मेहलकुनाहुँदै सिम्ता, सल्यान, रूकुम पश्चिम, जाजरकोट र डोल्पासम्म जोड्ने यो सडक कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने जीवनरेखा मानिन्छ ।

तर, निर्माणमा देखिएको ढिलाइ, कच्ची सडक र धुलो कारण यस सडक प्रयोग गर्ने स्थानीय र यात्रुहरू दैनिक सास्ती भाेगिरहेका छन् । सडक विस्तारका क्रममा ३३ केभी र ११ केभीका विद्युत् पोल तथा तार नहटाइनु, आवश्यकताअनुसार बजेट विनियोजन नहुनु र कमजोर ठेक्का व्यवस्थापनले सडक निर्माण थप प्रभावित बनेको हो ।


राज्यको उदासिनता र कमजोर समन्वयकै कारण सडक निर्माण लामो समयसम्म अलपत्र पर्दा स्थानीयवासीले धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता हट्न सकेको छैन ।
सडक डिभिजन कार्यालय सुर्खेतले छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत राताचौर नजिकको साँधी खोलादेखि गुर्भाकोट नगरपालिकाको पोखरेसम्म करिब २० किलोमिटर सडक स्तरोन्नतिको काम थालेको हो ।
१ वैशाख २०८० मा सम्झौता भएको यो आयोजनाको कुल लागत ७९ करोड ७८ लाख २७ हजार रुपैयाँ छ । केएस कन्ट्रक्शन प्रा.लि.ले ठेक्का पाएको भए पनि ठूलो लगानी हुँदाहुँदै कामले गति लिन नसकेको स्थानीयको गुनासो छ ।
‘कच्ची र धुलाम्मे सडकले बजार क्षेत्रमै बस्न र व्यापार गर्नसमेत कठिन भएको स्थानीय बताउँछन् । “धुलो यति धेरै उड्छ कि घर बाहिर बस्नै सकिँदैन,” स्थानीय तिलक वली भन्छन्, “निर्माण व्यवसायीलाई सोध्दा बजेट नै पर्याप्त छैन भन्छन् । आखिर हाम्रो पीडा कसले बुझिदिने ?”

यो सडक केवल स्थानीय आवागमनका लागि मात्रै होइन, छिन्चुबाट मेहलकुना, सिम्ता, सल्यान, रूकुम पश्चिम, जाजरकोट, डोल्पा हुँदै नेपालगञ्जसम्म जाने यात्रुहरूको मुख्य मार्ग हो ।

दैनिक रूपमा मालवाहक सवारी, सार्वजनिक बस, एम्बुलेन्स र निजी सवारीसाधन यही सडक प्रयोग गर्छन् । तर वर्षौंदेखि कच्ची अवस्थामा रहेको सडकका कारण लामो दूरीका यात्रुहरूले घण्टौँसम्म धुलो र हिलो सहँदै यात्रा गर्नु परेको छ ।
वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले सवारी साधन बिग्रिने, दुर्घटनाको जोखिम बढ्ने र यात्रा समय दोब्बर लाग्ने समस्या रहेको यात्रुहरूको अनुभव छ । जाजरकोट र डोल्पातर्फ जाने नागरिकहरू समयमै गन्तव्यमा पुग्न नसक्दा थप समस्या भोगिरहेका छन् । स्थानीयका अनुसार कच्ची सडकका कारण साना व्यवसाय प्रभावित हुनुका साथै कृषि उपज ढुवानीमासमेत कठिनाइ भइरहेको छ ।
सडक निर्माणको लक्ष्यअनुसार २०८३ साउन भित्र करिब २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । बजार क्षेत्रमा फोरलेन र बाँकी क्षेत्रमा डबल लेन सडक निर्माण गरिने जनाइएको छ । तर विद्युत् पोल सार्ने प्रक्रिया, रुख कटान तथा ठेक्का व्यवस्थापनका समस्या समाधान नहुँदा र बजेट अभाव कायमै रहँदा लक्ष्य समयमै पूरा हुने विश्वास गर्ने आधार गुम्दै गएकाे छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख ई. किरण खनालले विद्युत् पोल सार्ने विषयमा छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
“पहिल्यै ठेक्का लागिसकेको सडक भएकाले केही प्राविधिक र प्रशासनिक कारणले ढिलाइ भएको देखिन्छ,” खनाल भन्छन्, “सडक कार्यालयसँग समन्वय गरेर छिट्टै निकास दिन्छौं ।”
चालु आर्थिक वर्षमा सडक निर्माणका लागि जम्मा १२ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ । प्रारम्भिक लागत विवरणअनुसार विद्युत् पोल सार्न मात्रै करिब ४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनका अनुसार सडक निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि स्थानीय तहले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ।
“मेहलकुना बजार क्षेत्रमा पानी निकास, विद्युत् पोल र स्थानीय विवादका विषयमा समस्या छन्,” पुन भन्छन्, “स्थानीय तहबाट समाधान गर्न सकिने विषयमा पहल गरिरहेका छौं र सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ ।”
तीन वर्षको अवधिमा कतिपय स्थानमा नाला, कल्भर्ट निर्माण र सडक चौडा गर्ने काम सम्पन्न भए पनि समग्र सडक सहज र सुरक्षित बन्न सकेको छैन । योजना तय गर्दा नै पर्याप्त बजेट सुनिश्चित नगर्नु र पूर्वतयारी कमजोर हुनुको असर अहिले स्थानीयले प्रत्यक्ष रूपमा भोगिरहेका छन् ।

सुशील खड्का । ७ माघ २०८२, बुधबार १८:१२