
सुर्खेत । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बाघको आक्रमणबाट एक सातामै कर्णालीका दुई जना सर्वसाधारणले ज्यान गुमाएका छन् । बाँके राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा एक र बर्दिया राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा एक जनाले ज्यान गुमाएका हुन् ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भयो । बर्दियाको बाँसगढी नगरपालिका–१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वन क्षेत्रमा महिलाको शव भेटिएको थियो ।

यस्तै, बाघले शुक्रबार (पुस २५ गते) बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सल्यानको कालीमाटी–७ घुईयाबारी नजिक पर्सेनी गाउँमा दाउरा काट्न गएका बेला बाघको आक्रमणबाट ४२ वर्षीया धनसरी रावतको मृत्यु भएको छ । स्थानीयका अनुसार धनसरी शुक्रबार घरनजिकै रहेको हरियाली सामुदायिक वनमा दाउरा काट्न गएकी थिइन्। उनलाई दिउँसो साढे ३ बजेतिर बाघले आक्रमण गरेर जंगलतिर घिसार्दै लगेको थियो । घटना लगत्तै प्रहरी र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले खोजी गर्दा घरदेखि ५ सय मिटर पर झाडीमा शव फेला परेको हुन् ।


नेपाल कर्म । २६ पुष २०८२, शनिबार १७:००