कोइला बालेर सुत्दा निसास्सिएर शिशुको मृत्यु, दुई जना बेहोस


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य दुई जना बेहोस भएका छन् । ‎‎मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेकी छन् ।



उनको कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‎‎भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी करिब ३२ वर्षीया तारा, उनकी करिब १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा कोठामा कोइला बालेर सुतेका थिए ।
बिहिबार बिहान ९ ः ४५ बजेसम्म पनि उनीहरू नउठेपछि घरबेटीले बोलाउन जाँदा छोरा प्रकाश बुढाले ढोका खोलेका थिए । ‎ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने १० वर्षीय छोरा प्रकाशको अवस्था सामान्य रहेको छ ।

बेहोस भएका सबैलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पु¥याएका थिए । उनीहरुको अहिले त्यही उपचार भइरहेको छ ।

अहिले अस्पतालमा ताराका श्रीमान् गोपी बुढाको उपस्थितिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए ।

चिसोबाट बच्न झ्याल ढोका थुनेर कोइला वा ब्रिकेट बालेर सुत्दा अक्सिजनको कमी भई यस्ता दुर्घटना हुने गरेकाले प्रहरीले सचेत रहन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया