जुनीचाँदेका उपाध्यक्ष द्वारा कर्मचारीमाथी कुटपिट प्रहरीमा उजुरी


जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका उपाध्यक्ष वीरेन्द्रबहादुर शाहीले कार्यालयका कर्मचारीलाई कुटपिट गरेका छन् । बुधवार गाउँपालिकाको कार्यालयमै सेवाग्राहीको काम गरिरहेका कर्मचारीमाथि उपाध्यक्ष शाहीले कुटपिट गरी ज्यान मार्ने धम्की दिइएको आरोप लागेको हो ।



गाउँपालिकाका उपाध्यक्ष शाहीले मादक पदार्थ सेवन गरेको अवस्थामा कार्यालयमै प्रवेश गरी कर्मचारी लालबहादुर शाहीमाथि भौतिक आक्रमण गरेको आरोप लागेको हो ।

गाउँपालिका वडा नम्बर २ का स्थानीय धनबहादुर गिरिलाई नेपालगन्ज मेडिकल कलेज, कोहलपुरले पेटको क्यान्सर प्रमाणित गरेपछि उपचारका लागि सिफारिस आवश्यक परेकाले कार्यालय बन्द हुने समयमै वडा नम्बर २ का अध्यक्षको आग्रहमा आपतकालीन रूपमा सिफारिस प्रक्रिया अघि बढाइएको थियो । प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गराई प्रशासन शाखामा चलानी र कार्यालयको छाप लगाउने क्रममा उपाध्यक्ष शाही मदिरा सेवन गरेको अवस्थामा कार्यालय प्रवेश कार्यालय सहयोगी शाही माथि कुटपिट गरेको उनको आरोप छ ।

कुटपिटपछि ज्यान जोगाउन स्वास्थ्य शाखातर्फ भागेका शाही कार्यालय बन्द गर्ने क्रममा पुनः उपाध्यक्षकै सामना गर्न पुगेको प्रत्यक्षदर्शी भनाइ छ ।
उपाध्यक्ष शाहीले कन्चटमा प्रहार गर्दा आफू रक्ताम्य भएको कार्यालय सहयोगी शाहीले बताए । उपाध्यक्ष ज्यूले “ल जा, मुद्दा गर म जेल जान्छु,” भन्दै उपाध्यक्षले खुलेआम धम्की दिएका छन् । उपाध्यक्ष शाहीका यस्ता एकपछि अर्को व्यवहारबाट जुनिचादेबासी आजित भएका छन् । कार्यालयमै सेवाग्राहीको काम गरिरहेका बेला मादक पदार्थ सेवन गरी कर्मचारीमाथि गरिएको भौतिक आक्रमणको सर्वत्र निन्दा गरिएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न प्रहरी चौकी मजकोटमा उजुरी दिएका छन् ।

तपाईको प्रतिक्रिया