
नेपालगञ्ज उद्योग वाणिज्य संघमा २.५ दिने ‘व्यवसायको औपचारिकीकरण’ पुनर्ताजगी तालिम सुरु
अनलाइन डेस्क नेपालगञ्ज, १५ पौष २०८२

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले महिलाहरूलाई आर्थिक कार्यहरूमा सहभागी नगराएसम्म देशको आर्थिक सबलीकरणको परिकल्पना गर्न असम्भव रहेको बताउनुभएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत मंगलबारदेखि नेपालगञ्जमा सुरु भएको २.५ दिने “व्यवसायको औपचारिकीकरण गर्नुहोस् (Formalize Your Business)” पुनर्ताजगी तालिमको उद्घाटन गर्दै मन्सुरीले यस्तो विचार व्यक्त गर्नुभएको हो।
धार्मिक प्रसङ्ग जोड्दै मन्सुरीले भन्नुभयो, “आमाको पैताला मुनि स्वर्ग हुन्छ भनिन्छ, तिनै स्वर्गरूपी आमा, दिदीबहिनीहरूको आर्थिक सबलीकरणले मात्रै देश र समाजको सामाजिक–आर्थिक उन्नति सम्भव छ।”

व्यवसायलाई कानुनी दायरामा ल्याउने लक्ष्य
नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक तथा कार्यक्रमका केन्द्रीय संयोजक हरि पौडेलले तालिमको उद्देश्यबारे जानकारी दिँदै महासंघले महिलाहरूलाई व्यवसाय र रोजगारीमा आबद्ध गराउन निरन्तर काम गरिरहेको बताउनुभयो। हाल ILO, UNICEF, UNFPA र UN WOMEN को संयुक्त प्रयासमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।
पौडेलका अनुसार महासंघले ६ वटा उद्योग वाणिज्य संघहरू मार्फत ‘महिला उद्यमशीलता सहायता केन्द्र’ सञ्चालन गरेर व्यवसाय दर्ता, PAN/VAT आबद्धता, र योगदानमा आधारित सामाजिक सुरक्षा जस्ता विषयमा सहयोग गर्दै आएको छ। यस पुनर्ताजगी तालिममा जनकपुर, वीरगञ्ज, सुर्खेत, दैलेख, डोटी र कैलालीका सहजकर्ता तथा प्रदेश संयोजकहरूको सहभागिता रहेको छ।
स्वामित्व र चेतनाको खाँचो
कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले महिलाको नाममा व्यवसाय दर्ता हुने क्रम बढे पनि वास्तविक स्वामित्व अझै न्यून रहेको बताउनुभयो। “करिब ३० प्रतिशत व्यवसाय महिलाको नाममा होलान्, तर कानुनी प्रक्रिया र अनुपालनबारे जानकारी नहुँदा महिलाहरूले पूर्ण स्वामित्व लिन आँट गरिरहेका छैनन्,” ओलीले भन्नुभयो।
तालिमको प्राविधिक पक्ष
तालिममा प्रशिक्षकद्वय अर्जुन भट्टराई र रचना पण्डितले व्यवसायको औपचारिकीकरणका महत्व, चुनौती र अवसरका साथै लेखा प्रणालीका बारेमा प्रशिक्षण दिइरहनुभएको छ। कार्यक्रमको सञ्चालन मधेश प्रदेशका कार्यक्रम संयोजक डा. बाशुदेव कर्णले गर्नुभएको थियो।
२.५ दिनसम्म चल्ने यो तालिमले महिला उद्यमीहरूलाई कानुनी रूपमा सबल बनाउन र उनीहरूको व्यवसायलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नेपाल कर्म । १६ पुष २०८२, बुधबार १४:०२