कर्णालीको राजधानीमा रैथाने बाली र बीउको महोत्सव: ३०० भन्दा बढी बीउ साटासाट



सुर्खेत, वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कृषि जैविक विविधता तथा रैथाने खाद्य/बीउ प्रदर्शनी–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ। स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका युवा किसानहरूको सक्रिय सहभागिता रहेको थियो।

आयोजक र समन्वय
पर्यावरणीय कृषि युवा सञ्जाल कर्णाली प्रदेशको आयोजना तथा सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो। मेलालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कर्णाली प्रदेश), वीरेन्द्रनगर नगरपालिका, हातेमालो-नेपाल (जुम्ला), आत्मनिर्भर समाज, हिमालयन पर्मा कल्चर (HPC) र फियान नेपालले समन्वय गरेका थिए।

प्रदर्शनीका मुख्य आकर्षण
प्रदर्शनीमा कर्णालीको विविधता झल्किने २४ वटा स्टलहरू राखिएका थिए। कार्यक्रमको मुख्य उपलब्धिहरू यस प्रकार रहे:

बीउ साटासाट: कार्यक्रम अवधिभर किसान र अवलोकनकर्ताहरूबीच ३०० भन्दा बढी प्रकारका रैथाने बीउहरू साटासाट गरिएको थियो।

सहभागिता: करिब एक हजारदेखि १५ सय जनाले मेलाको अवलोकन गरेका थिए।

रैथाने स्वाद: मेलामा ५० भन्दा बढी स्थानीय परिकारहरू पस्किएका थिए। जसमा मार्सी चामलको खिचडी, चिनोको खीर, फापरको लगड, सिस्नुको तरकारी, कुपिन्डोको राइतो, कोदोको पुवा, उसिनेको पिँडालु, फर्सी र तरुल जस्ता मौलिक स्वादहरू समावेश थिए।

विशिष्ट अतिथिहरूको अवलोकन
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय अशोक नाथ योगी, कृषि मन्त्रालयको योजना महाशाखा प्रमुख तिलक प्रसाद पाण्डे र वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसी लगायतको उपस्थिति थियो। अतिथिहरूले स्टलको अवलोकन गर्नुका साथै स्वयं किसानहरूले तयार पारेका रैथाने परिकारको स्वाद लिनुभएको थियो।

स्थानीय कृषिमा जोड
स्वयं किसानहरूले उत्पादन गरेका वस्तु र बनाएका परिकारहरूको प्रदर्शनीले कर्णालीको रैथाने बालीको महत्वलाई उजागर गरेको छ। आयातित खाद्यवस्तुको बढ्दो प्रयोगका बीच यस्ता कार्यक्रमले स्थानीय बीउ र खाद्य सुरक्षामा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।

तपाईको प्रतिक्रिया